तिलोत्तमाकी अमृताको मृत्यु प्रकरण: प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

रूपन्देही

रूपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद रूपमा मृत्यु भएकी अमृता खत्री टण्डनको समाचार संकलनको लागि गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ।

उक्त घटनापछि मृतक अमृताको माइती पक्षले छानबिनको माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेको समाचार संकलनको लागि गएका बुटवलका पत्रकारहरू शरणकुमार कर्माचार्य, दिनेश श्रेष्ठ र डिबी सुस्लिङमाथि दुर्व्यवहार गरेको हो।

इलाका प्रहरी कार्यालय अगाडि पीडित पक्षले गरेको प्रदर्शनको तस्बिर खिच्ने क्रममा वरिष्ठ प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले हातपात र दुर्व्यवहार गरेको पत्रकार सुस्लिङले बताए।

‘हामीले पत्रकार परिचय पत्र देखाएर प्रदर्शनको तस्बिर खिच्दै गर्दा पनि तस्बिर खिच्न पाइँदैन भन्दै मोबाइल खोसेर तस्बिर डिलिट गर्न दबाब दिइयो,’ सुस्लिङले भने।

पत्रकार कर्माचार्यले सूचना विभागको प्रेस पास देखाउँदा समेत पत्रकार कसैलाई चिन्दैनौं भन्दै घिमिरेले आफ्नो कठालो समातेको बताए।

कर्माचार्यले वरिष्ठ प्रहरी नायब निरीक्षक घिमिरेले आफ्नो कठालो समातेर कुटपिटको प्रयास गरेपछि अर्को एक प्रहरी आएर छुटाएको बताए।

‘प्रहरी कार्यालय परिसरमै प्रेस पास देखाएर तस्बिर खिच्दा समेत हामीमाथि हातपात र दुर्व्यवहार भयो, यो स्वतन्त्र प्रेसमाथिको दमन हो,’ कर्माचार्यले भने।

पत्रकार कर्माचार्य खबरकुरा डटकमका प्रधान सम्पादक, श्रेष्ठ सम्पादक र सुस्लिङ ग्लोबल आवाज डटकमका समाचार प्रमुख हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले प्रदर्शनकारी र प्रहरीका बीचमा भएको झडपको क्रममा धकेलाधकेलमात्रै भएको बताए।

बुधबार राति साढे आठ बजे जानकीनगरस्थित माइतीबाट घर गएकी अृमताको सोही राति करिब १० बजेतिर शंकास्पद रूपमा विष सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

माइती पक्षले अमृताको घरका परिवारले हत्या गरेको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन गर्दै आएका छन्।

९ वर्ष पहिले प्रेम विवाह गरेकी अमृताको माइती र घरको दूरी ३/४ सय मिटरको मात्रै रहेको छ।

बुधबार माइतीमा बस्न गएकी अमृतालाई राति आठ बजेतिर घरबाट पटक/पटक फोन गरी घरमा बोलाएको र घर पुगेको आधा घण्टापछि नै विष सेवन गरि मृत्यु भएको बताएपछि माइती पक्षले उक्त घटना आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएको छ।

प्रतिक्रिया

खबर सबै