काल बन्दै कपिलवस्तुमा मोटरसाईकल यात्रा !

राजेन्द्र खनाल, कपिलवस्तु । पछिल्लो समय कपिलवस्तु सहित लुम्बिनी प्रदेशमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेहरुको संख्या बढेको छ । सडक विस्तार नहुनु र सवारी साधनको चाप भने बृद्धी हुदा प्रदेशका विभिन्न जिल्लामा दिनहुँजसो सवारी दुर्घटनामा परि कैयौँले अकालमै ज्यान गुमाईरहेका छन् ।

यता कपिलवस्तु जिल्लामा पनि पुर्व पश्चिम मुख्य राजमार्ग देखि अन्य भित्रि सडकहरुमा हुने सवारी दुर्घटना र त्यसमा परी ज्यान गुमाउनेहरुको तथ्याङ्क हेर्दा डरलाग्दो छ । अझ विशेषगरी मुख्य राजमार्गमै सवारी दुर्घटनामा परि धेरैले ज्यान गुमाउने गरेका छन्। त्यसमा पनि मोटरसाईकल दुर्घटना अझ डरलाग्दो देखिएको छ ।

६ महिनामा ३६ को मृत्यु

कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्षको असार मसान्त देखि पुष मसान्त सम्मको ६ महिनाको अवधिमा सवारी दुर्घटनामा परि कुल ३६ जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको तथ्याङ्कले देखाएको छ । त्यस मध्ये पनि सबै भन्दा बढी मोटरसाईकल दुर्घटना भएका छन भने मोटर साईकल दुर्घटनामा परी जिल्लाभर कुल ४४ जनाले ज्यान गुमाएका छन् ।

कपिलवस्तुमा चालु आर्थिक वर्षको साउन महिनामा कुल १६ वटा सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन भने त्यस मध्ये सबैभन्दा बढी ७ वटा मोटरसाईकल दुर्घटनामा परेका छन् । त्यस्तै भदौमा पनि ७ जनाको ज्यान जानेगरी भएका सवारी दुर्घटनामा १३ वटा मोटरसाईकल सहित २३ वटा सवारी दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । असोज, कात्तिक र मंसिर महिनामा कपिलवस्तुका विभिन्न स्थानमा गरी समान १३÷१३ सवारी दुर्घटनामा परेका छन् । त्यस मध्ये क्रमश ४, ६ र ६ जनाको दुर्घटनामा परि ज्यान गएको छ । यस्तै पुष महिनामा कपिलवस्तुमा १० वटा सवारी साधन दुर्घटनामा पर्दा ६ जनाले ज्यान गुमाएका छन् ।

कपिलवस्तुमा पछिल्लो ६ महिनाको अवधिमा भएका विभिन्न ८८ वटा सवारी दुर्घटनामा परि महिलाको तुलनामा पुरुषले बढी ज्यान गुमाएका छन् । त्यसमा पनि मोटर साईकल दुर्घटनामा परि दुई महिलाको मृत्यु हुँदा २७ पुरुषले ज्यान गुमाएका छन् । यो ६ महिनाको अवधिमा ४४ वटा मोटरसाईकल दुर्घटनामा परेको तथ्याङ्क छ भने ट्रक ट्याङ्कर १०, टिपर २, बस ९, माइक्रो १, कार जिप ७, ट्याक्टर ६, अटो १, साइकल सवार २ र अन्य ६ सवारी दुर्घटनामा परेका हुन ।

अन्य विभिन्न सवारी साधन दुर्घटनाको अवस्था केही कम देखिएको भए पनि कपिलवस्तुमा मोटरसाइकल दुर्घटनाको अवस्था भने डरलाग्दो अवस्थामा छ भने मोटर साईकल दुर्घटनामा ज्यान गुमाने र घाइते हुनेको अवस्था पनि उस्तै भयावह छ । पछिल्लो ६ महिनाको अवधिमा कलिवस्तुमा सवारी दुर्घटनामा पनि ३९ जना पुरुष र ४ जना महिला, दुई जना बाल र एक बालिका गरी कुल ४६ जना गम्भिर घाइते भएका थिए । यस्तै यही समयमा दुर्घटनामा परी सामान्य घाइते हुनेहरुको अवस्था पनि उस्तै छ । कपिलवस्तुमा भएका सवारी दुर्घटनामा परि कुल ५४ जना मानिस सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

एक हप्ता वित्यो, भेटिएन दुर्घटनाको रहस्य

यसैबिच यता कपिलवस्तुको बणगंगा नगरपालिका वडा नम्बर १ स्थित बैरियामा गत मंगलबार राति भएको मोटरसाईकल दुर्घटनामा बाणगंगा ९ का एक युवकले ज्यान गुमाए । राति ८ः ४० देखि ९ बजेको समयमा भएको सो दुर्घटनामा वडा नम्बर ९ का प्रज्वल भुषालको मृत्यु भयो । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको भए पनि प्रहरीले यो समाचार तयार पार्दा सम्म ठक्कर दिने सवारी साधनको पहिचान गर्न सकेको छैन ।

उता मृतक २४ वर्षीय भुसालका आफन्तले ठक्कर दिने सवारी साधनको पहिचान नभए सम्म शव नउठाउने भन्दै दुर्घटनाको तीन दिन प्रहरी कार्यालयमै पुगेर खोजि कार्य गर्न प्रहरीसँग हारगुहार गरे । मोटरसाईकलमा सवार भुषाल होटल संचालक थिए । उनी सामान पु¥याउन पुग्दै गर्दा मुख्य राजमार्गमै सवारीले ठक्कर दिएर भागेको परिवारका सदस्यको भनाई छ भने प्रहरीका अनुसार भुषाल सवार मोटरसाईकलमा दुर्घटनाको अवस्थामा जनावरको गोबर लागेकाले जनावरसँग ठोक्किएको दाबी छ । दुर्घटनामा गम्भिर घाइते भएका उनलाई प्रहरीले कपिलवस्तु सामुदायिक अस्पतालमा पु¥यायो र पछि थप उपचारका लागि भन्दै बुटवल लगियो । उनको बुटवल लैजादैँ गर्दा ज्यान गएको थियो ।

यता तीन दिन सम्म परिवारले शव नबुझ्ने अडान लिइरहेका बेला ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक र मृतक युवकका आफन्तबिचको कुराकानीपछि बिहिबार तीन दिन पछि अन्त्यष्टि गरिएको छ । यता प्रहरी निरिक्षक दिनेश गुरुङका अनुसार ठक्कर दिने सवारी साधनको खोजि कार्य जारी रहेको उल्लेख छ । यता परिवारका सदस्यहरुले भने प्रहरीको आश्वासनका आधारमा आफुहरु शवको अन्त्यष्टी गरिएको भए पनि ठक्कर दिने सवारी साधनको खोजी जसरी पनि हुनुपर्ने बताउँछन् । दुर्घटना भएको एक हप्ता बित्नै लाग्दा समेत कुन सवारीले ठक्कर दियो भन्ने पत्ता लाग्न सकेको छैन । ईलाका प्रहरी कार्यालय पिपराको कार्यलय देखि झण्डै ५ सय मिटरको दुरीमा दुरीमा दुर्घटना भई ज्यान जाँदा समेत प्रहरीले दुर्घटनाको वास्तविकता बाहिर ल्याएको छैन । यता परिवारका सदस्यले भने ठक्कर दिएको भनिएको सवारी साधनको पहिचान हुनेमा आशावादी देखिएका छन् ।

प्रतिक्रिया

खबर सबै