

बाँकेमा बाघको आक्रमण, तीन महिनामा तीनको ज्यान गयो



बाँके । बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ ।
बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ ।
बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उहाँको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ ।
केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झम्टेको थियो ।
बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो ।
विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार प्रहरी घटनास्थल पुग्दा बाघले मान्छेलाई खाइरहेको थियो । होहल्ला गर्दा पनि नभागेको बाघलाई प्रहरीले दुई राउण्ड फायर गरेर अलिकति टाढा भगाएर शव लिएर आएको थियो ।
राप्तीसोनारी–४ को क्षेत्रमा केही दिनदेखि बाघको आक्रमण बढेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्ने बताउनुभयो । उहाँले स्थानीयवासीलाई पनि सचेत गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
बाघको सङ्ख्या बढाउनकै लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना गर्ने कार्य भइरेहेको छ । पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताउनुभयो ।


खबर सबै
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा







प्रतिक्रिया