लुम्बिनी प्रदेशमा नदीजन्य पदार्थको मुल्यमा ५० प्रतिशतले वृद्धि

कपिलवस्तु

मानिसको सहज जिवनयापनका लागि आम जनताले घर बनाउने कार्यमा प्राथमिकता दिदैँ आएका छन् । यस वर्षबाट भने अन्य वर्षमा भन्दा घर बनाउने काम थप खर्चिलो हुने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले गिट्टी, बालुवा, तथा ढुङ्गामा लाग्ने दर रेटमा ५० प्रतिशत वृद्धि गरेपछि जनता थप मारमा पर्ने भएका हुन् ।

चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तुत गरेको अध्यादेशमा प्राकृतिक स्रोत शुल्कमा लाग्ने दर वृद्धि गरेको हो ।

जारी गरेको अध्यादेश अनुसार गिट्टी ढुङ्गा तथा बालुवाको दर रेटमा ५० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष तराइका जिल्लामा प्रति घन फुटको मूल्य ८ रुपैयाँ रहेको थियो । यस वर्ष बढेर १२ रुपैयाँ तोकिएको छ । उक्त दर तराईसँग सीमा जोडिएका पहाडी जिल्ला भू–भागदेखी संकलन गर्दा लाग्ने उल्लेख गरिएको छ ।

यसै गरी पहाडी जिल्लाका लागि प्रति घन फिटको मूल्य ८ रुपैयाँ तोकिएको छ । गत वर्ष प्रति घन फुट ५ रुपैयाँ तोकिएको थियो । अन्य दर भने पुरानै कायम भएको छ ।

प्रदेश सरकारले दर रेट बढाएसँगै विकास निर्माणका काम र घर र संरचना निर्माणका काम थप खर्चिले हुने भएको नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक पछाइले बताए ।

सरकारले लिने दस्तुर वृद्धि भएपछि उपभोक्ताले पाउने दर त्यो भन्दा पनि धेरै हुने पक्का रहेको छ । तोकिएको नयाँ दरमा स्थानीय सरकारले ठेक्का लगाउनसमेत सुरु गरेका छन् । कपिलवस्तुमा विजयनगर गाउँपालिका र बुद्धभूमी नगरपालिकाले नयाँ दरमा ठेक्का लगाउने सूचना प्रकाशन गरेका छन् ।

प्रतिक्रिया

खबर सबै