राप्ती प्रादेशिक अस्पतालका मेसुलाई कालोमोसो दल्नेलाई कारबाही नभए सेवा ठप्प पार्ने चेतावनी

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा। विनोद सिंहलाई युवाहरुको समूहले शुक्रबार मोसो दलेको छ । युवाहरुले अस्पतालको सेवाका विषयमा विवाद गरेर डा। सिंहलाई कार्यकक्षमै कालो मोसो दलेको अस्पताल प्रशासनले जनाएको छ ।

घटनापछि अस्पताल व्यवस्थापन समिति अध्यक्ष पदमप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले घटनाप्रति खेद व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

शनिबार बिहानसम्म दोषीलाई पक्राउ नगरे अस्पतालका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । मोसो दल्ने युवाहरु फरार रहेको र सबैको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

यसैगरी घटनामा संलग्न भएको भन्दै नेकपा एमाले दाङले दुई विद्यार्थी नेताहरुलाई कारबाही गरेको छ । एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र मनोहर बुढाथोकीले प्रेस विज्ञप्ति जारी गरी डा। सिंहमाथि अभद्र व्यवहार गर्ने अनेरास्ववियूका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीलाई पार्टी र संगठनको जिम्मेवारीबाट हटाइएको जानकारी दिएका छन् । साथै उनीहरुलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी दिँदै कानुन बमोजिम कारबाहीको माग पनि गरिएको विज्ञप्तिमा जनाइएको छ ।

अनेरास्ववियूका संयोजक परियार, सहसंयोजक क्षेत्री, सचिव गोविन्द बस्नेत र केन्द्रीय सदस्य विराज डिसीले भने बिरामीहरुले मोसो दलेको दाबी गरेका छन् । अस्पतालका विकृतिका विषयमा पटकपटक प्रशासनको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको र शुक्रबार यस विषयमा बिरामीसहित सचेत गराउन जाँदा विवाद भई बिरामीहरुले नै मोसो दलेको उनीहरुले दाबी गरेका छन् । उनीहरुले प्रेस विज्ञप्तिमार्फत मोसो जसले लगाए पनि यसमा संगठनको समर्थन रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

खबर सबै