लुम्बिनी प्रदेश : नयाँ सरकार गठनको कसरत

बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको भन्दै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको कसरत शुरू गरेको छ।
लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई शनिबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेताहरूले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको जनाउँदै ध्यानाकर्षण पत्र बुझाए। कांग्रेस नेतृत्वको संघीय सरकारले प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि लुम्बिनी प्रदेशको विपक्षी गठबन्धन नयाँ सरकार बनाउने गृहकार्यमा लागेको हो।

२३ फागुन, २०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई अमान्य घोषणा गरेदेखि नै पोखरेल नेतृत्वको प्रदेश सरकार धर्मराउन थालेको थियो। पछिल्लो पटक जसपाले कल्पना पाण्डे लम्साल, सन्तोषकुमार पाण्डे र विजय यादवलाई सांसदबाट हटाएपछि लुम्बिनी सरकार अल्पमत परेको छ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० जना सांसद छन्। जसअनुसार, पोखरेललाई सरकार जोगाउन ४१ सांसदको समर्थन आवश्यक पर्छ। तर, उनीसँग एमालेका ३८ जना सांसद मात्रै छन्।

जबकी प्रदेश सरकारको विपक्षमा उभिएका कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), जसपाका तीन र जनमोर्चाका एक सांसद छन्। यो गठबन्धनले मुख्यमन्त्री पोखरेललाई बहुमत पुर्‍याउन चुनौती दिएको छ।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुदिन खान शनिबार प्रदेश प्रमुख शेरचनलाई लुम्बिनीको संसदीय गणितबारे अवगत गराएको बताउँछन्। उनी भन्छन्, “मुख्यमन्त्रीजी अल्पमतमा परिसक्नु भएको छ, राजीनामा गर्नु भएन भने एक–दुई दिनमै उहाँलाई हटाउने कानूनी बाटोमा लाग्छौं।”

सांसद तानातान

नेकपाबाट निर्वाचित सांसद बिमला वली पुनः एमालेमा फर्किएको चर्चा छ। २०७६ को उपनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं। ३ (ख) बाट निर्वाचित उनले यसअघि माओवादी रोजेको बताएकी थिइन्।

सांसद वलीको साथ पाउने हो भने मुख्यमन्त्री पोखरेलको पक्षमा ३९ सांसद हुन्छन्। यो संख्याले पनि पोखरेलको पद जोगिदैन। तर, वली एमालेमा लाग्दा विपक्षी गठबन्धनले बहुमत पुर्‍याउन सक्दैन। सभामुखले बराबर हुँदा मात्रै भोट दिन पाउने भएकाले गठबन्धनको पक्षमा वलीबाहेक ४० सांसद हुन्छन्।

माओवादी सत्ताबाट बाहिरिएपछि जसपाका चार सांसदलाई लिएर पोखरेलले आफ्नो सरकार जोगाएका थिए। अहिले चारमध्ये तीन जना पदमुक्त भईसकेका छन् भने सुमन शर्मा रायमाझी जसपा संस्थापनमै फर्किएकी छन्।

यसअघि विपक्षी गठबन्धनको योजना अनुरुप कपिलवस्तु क्षेत्र नम्बर २ (क) मा एमालेबाट निर्वाचित सांसद दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए। एमाले त्यागेर कांग्रेस प्रवेश गरेका उनी १७ जेठमा विपक्षी गठबन्धनबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भए।

२२ वैशाखमा एमालेका तर्फबाट दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित अर्का सांसद अम्मरबहादुर डांगीले राजिनामा दिए। जसपाकी सांसद पुर्मती ढेंगामगर पनि सत्ताको खिचातानीकै क्रममा केही समय सम्पर्कविहीन भएकी थिइन।

प्रतिक्रिया

खबर सबै