कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै

कपिलवस्तु । नेपाली मौलिक कला, संस्कृति, परम्परा तथा सामाजिक सद्भावको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित कपिलवस्तु ओएशिस क्लवले सचेतनामूलक सडक नाटक प्रतियोगिता, देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

क्लवले आगामी कार्तिक २७ गते शुक्रबार साँझ ५ः३० बजेदेखि बाणगंगा नगरपालिका–८, बोडगाउँमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । परम्परागत देउसी–भैलोलाई मनोरञ्जनमा मात्र सीमित नराखी समाजमा विद्यमान विकृति, विसङ्गति र समसामयिक समस्याविरुद्ध जनचेतना फैलाउने माध्यमका रूपमा विकास गर्ने लक्ष्य कार्यक्रमले लिएको आयोजकले जनाएको छ ।

कार्यक्रमअन्तर्गत सडक नाटक तथा सचेतनामूलक देउसी–भैलो प्रस्तुतिमार्फत लागुऔषध दुर्व्यसन, मदिराजन्य पदार्थको सेवन, बालविवाह, दाइजो प्रथा, बहुविवाह, लैङ्गिक तथा घरेलु हिंसा, बालश्रम, बालअधिकार हनन, आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यजस्ता विषय उठाइनेछन् ।

त्यसैगरी पछिल्लो समय बढ्दो डिजिटल प्रविधिको दुरुपयोगलाई समेत कार्यक्रमले प्राथमिकतामा राखेको छ । सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराध, अनलाइन ठगी, बैंकिङ ठगी, साइबर बुलिङ, चरित्र हत्या, इन्टरनेटको लत तथा कृत्रिम बुद्धिमत्ता (एआई) को सही प्रयोग र दुरुपयोग नियन्त्रणजस्ता विषयमा नाटकमार्फत सन्देश प्रवाह गरिनेछ ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सुशासन, पारदर्शिता र राजनीतिक तथा प्रशासनिक जवाफदेहितासम्बन्धी विषय पनि समेटिएका छन् । भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, सार्वजनिक पद तथा शक्तिको दुरुपयोग, विकास निर्माणमा हुने ढिलासुस्ती, बजेटको दुरुपयोग, निर्वाचनमा पैसाको चलखेल, मत खरिदबिक्री तथा सार्वजनिक सम्पत्तिको संरक्षणजस्ता विषयलाई समेत सडक नाटकको विषयवस्तु बनाइएको छ ।

त्यस्तै जातीय छुवाछुत, सामाजिक भेदभाव, अन्धविश्वास, कुरीति, महिला सशक्तीकरण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सम्मान, मानव बेचबिखन, वातावरणीय प्रदूषण, वन डढेलो, वन्यजन्तुको चोरी सिकार, सडक दुर्घटना, सरसफाइ, विपद् जोखिम न्यूनीकरण, कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धन र सामुदायिक एकताजस्ता विषय पनि प्रतियोगिताका लागि खुला गरिएको छ ।

आयोजकका अनुसार सडक नाटक तथा सांस्कृतिक प्रस्तुतिले मनोरञ्जनसँगै समाजमा सकारात्मक परिवर्तनको सन्देश दिनुपर्नेछ । स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई पहिचान गर्ने, उनीहरूलाई आफ्नो कला र सिर्जना प्रस्तुत गर्ने अवसर उपलब्ध गराउने तथा नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्ने कार्यक्रमको अर्को उद्देश्य रहेको छ ।

प्रतियोगितामा प्रथम हुने समूहले १० हजार रुपैयाँ, द्वितीय हुनेले ८ हजार रुपैयाँ र तृतीय हुनेले ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सहभागी समूहलाई प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा व्यक्ति वा समूहले सहभागिता जनाउन सक्नेछन् । प्रत्येक प्रस्तुतिका लागि अधिकतम सात मिनेटको समय निर्धारण गरिएको छ । प्रस्तुतिमा अश्लील, अभद्र तथा अपमानजनक शब्द वा दृश्य प्रयोग गर्न नपाइने र कुनै जातजाति, धर्म, भाषा, संस्कृति, लिङ्ग वा समुदायको अपमान हुने गतिविधि गर्न नहुने नियम बनाइएको छ ।

आयोजकले स्थानीय संघसंस्था, युवा समूह, सांस्कृतिक टोली तथा इच्छुक प्रतिभाहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । कार्यक्रमले स्थानीय कला र संस्कृतिको संरक्षणसँगै सामाजिक उत्तरदायित्व, नागरिक चेतना र सामुदायिक सद्भाव अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रमबारे थप जानकारी तथा सहभागिताका लागि कार्यक्रम संयोजक प्रदीप चौधरी (प्रदीप प्रिन्टिङ) लाई ९८४७०६७२२८ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै