बागलुङका ठाउँठाउँमा बाढीको क्षति, १ युवा बेपत्ता

रासस

बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा १ युवा बेपत्ता भएका छन् ।

मंगलवार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो ।

खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।

‘रातको समयमा बाख्रा जोगाउन खोला छेउमा पुगेका रहेछन्, त्यत्तिकैमा बाढी आएर खोरसँगै उसलाई बगाएको कुरा छ,’ ताराखोलाका पत्रकार महेन्द्र घर्तीले भने, ‘राताखोलाका सबै ठाउँमा पहिराले वितण्डा मच्चाएको छ ।’

पहिरामा परी सम्पर्कविहीन रहेका कार्कीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए । बाढीले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ ।

वर्षाका कारण ताराखोला–१ हिलको इदिटोलमा केही परिवार विस्थापित छन् ।

वडा नम्बर २ अर्गलमा १ घर पुरिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बाढीसँगै खोलामा पानीको बहाव बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि स्थानीय त्रसित छन् ।

बजार क्षेत्रका २५ परिवारलाई गए राति नै सुरक्षित स्थानमा सारिएको छ । उद्धारका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै