नेपालसहित २३ नेताको हस्ताक्षर फिर्ता गर्न ओलीले दिएको अल्टिमेटम सकिँदै

काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ ।

गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकमार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने चेतावनी समेत दिएका थिए ।

ओलीको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ । यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ । अर्थात ओलीले अव माधव नेपालसहितका हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्नेछन् ।

यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न गरेको प्रयास समेत असफल भएको छ । सर्वोच्च अदालतको फैसला आउने सम्मुखमा ओली पक्षबाट संयुक्त विज्ञप्तिका लागि भएको प्रयासलाई नेपाल पक्षले शंकाको दृष्टिले हेरेको छ ।

आइतबार बिहान ओली पक्षका नेताहरु विष्णु पौडेल,सुवास नेम्वाङ र शंकर पोखरेल नेता नेपाल निवास कोटेश्वर पुगेर संयुक्त विज्ञप्तिका लागि आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई नेता नेपालले सकारात्मक ठान्दै नेताहरुबीच भएको सहमतिको मस्यौदा ल्याउन र कार्यदल व्युत्याउन सुझाव दिएपनि ओली पक्ष कार्यदल व्युत्याउन प्रतिवद्ध भएको देखिएन ।

साथै तयार भएको भनिएको मस्यौदा लिएर ओली पक्षीय नेताहरु पुन नेपाललाई भेट्न समेत गएनन् । यो प्रयास असफल भएपछि ओली पक्षले आइतबार साँझ पुन माधव पक्षीय नेता भीम रावललाई बालुवाटारमा बोलाएका थिए ।

ओलीको बोलावटपछि नेता रावल बालुवाटार गएपनि उनीहरुबीच के सम्वाद भयो भन्ने खुलेको छैन । बालुवाटार जानुअघि रावलले कोटेश्वर पुगेर नेता नेपालसँग छलफल गरेका थिए । स्रोतका अनुसार आइतबारै नेता नेपालले आफू निकटका नेताहरुसँगको कुराकानीमा एमाले एकता कायम राख्ने नराख्ने भन्ने बल ओलीको हातमा रहेको भन्दै उनी एकताप्रति इमान्दार नभएको निश्कर्ष सुनाएका थिए ।

साथै उनले मुखले ओलीले एकताका लागि प्रयास गरेको देखाउन खोजेपनि व्यवहारमा एकताको पक्षमा नरहेको स्पष्ट भएको बताएका थिए ।

‘बल अव ओलीको कोर्टमा छ, दोस्रो सर्वोच्चको आदेश कुर्नुको विकल्प छैन र तेस्रो सर्वोच्चको आदेशपछि हामी के गर्ने भन्ने निर्णयमा पुग्छौ’, नेता नेपालसँग कार्यकर्ताले राखेको जिज्ञासामा नेपालले भनेका थिए ।

प्रतिक्रिया

खबर सबै