भौतिक पूर्वाधार मन्त्रालय नपाए मुख्यमन्त्री चाहिन्छ : दीपक मनाङे

पोखरा

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको जिम्मेवारी तोक्दा दुई मन्त्रीले भने जिम्मेवारी लिन मानेनन् ।

बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेको करिब दुई हप्तापछि नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनीहरुले आइतबार नै पदभार ग्रहण गरे ।

गण्डकी प्रदेशको भौतिक र अर्थ मन्त्रायको किचलो अझै नसुल्झिएपछि यी दुई मन्त्रालयलाई बाँकी राखेर अन्य मन्त्रालयको बाँडफाँट गरिएको थियो। तर वैशाख २९ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भने मुख्यमन्त्रीले तोकेको मन्त्रालयमा जान मानेनन्।

मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेका छन् । मुख्यमन्त्रीले उनलाई तत्कालका लागि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेका थिए । बिना विभागीय मन्त्री मनाङेले आफू भौतिक मन्त्रालयको जिम्मेवारी पाउने गरी कांग्रेससँग सहमति नै गरिसकेको भन्दै उनले आफू पछि नहट्ने बताए । ‘म र जसपा एउटै पार्टी भएर सरकारमा गएको हो । म एक्लै गएको होइन,’ मनाङले भने, ‘सुरुको एग्रिमेन्टबाट पछि हट्छन् भने यिनीहरुको समस्या हो । हाम्रो होइन ।’

मन्त्री मनाङेले आफूलाई भौतिक मन्त्रालय नदिए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग राखे। ‘माओवादी र कांग्रेसले ४/४ वटा मन्त्रालय अनि हामी जसपासँग ३ वटा मन्त्रालय भनेर पहिल्यै कुरा भाको हो । अहिले उनीहरु लोभी भएर हुँदैन’, उनले भने, ‘मलाई भौतिक नदिए मुख्यमन्त्री दिन्छन् । मैले भन्दिसक्या छु ।’

अर्का बिना विभागीय मन्त्री जनता समाजवादीका हरिशरण आचार्य आफूहरुलाई २ मन्त्रालयको जिम्मेवारी नदिएसम्म पदभार ग्रहण नगर्ने बताए । उनले जसपाले पाउने सहमति भएको २ मन्त्रालयको जिम्मेवारी नदिएकाले आफूले पदभार ग्रहण नगरेको सुनाए।

प्रतिक्रिया