पार्टीलाई फुटबाट जोगाउ : झलनाथ खनाल

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन् । स्वास्थ्यमा गम्भीर समस्या भइ हाल नर्भिक अस्पतालमा उपचाररत उनले थप उपचारका लागि भारत जानुअघि एक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

‘एकता सफलताको बाटो हो भने फुट विनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गर्न चाहन्छु’, खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुटफुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।

उनले देशको बिथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको उल्लेख गर्दै अन्तर संघर्षको पराकम्प तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै  अहिले एमालेसम्म परेका बताएका छन् ।
‘राष्ट्रिय एकता अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु बिचको अनावश्यक टकराव, महत्वाकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामी सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु’, खनालले विज्ञप्तिमा भनेका छन् ।
एमाले सयौँ सहिदहरुको बलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको स्मरण गर्दै उनले जनताको चाहना र अपेक्षा विपरित पार्टी अघि बढिरहेकाले सच्चिन जरुरी रहेका बताएका छन् ।  उनले सबै मिलेर नै सफलता हात पार्न पनि बताएका छन् ।

उनले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा आफू आज केहि दिनका लागि देश बाहिर जान लागेको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरु माझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया

खबर सबै