

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना



पोखरा
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् । गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए ।
विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले संविधानको धारा १६८ (५० अनुसार मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार नै ३१ प्रदेशसभा सदस्यको सशरीर उपस्थितिसहित दाबी पेश गरेका थिए । प्रदेशसभा सदस्यहरुले त्यहीं हस्ताक्षर गरेका थिए ।
विपक्षी गठबन्धनले शुक्रबार नै मुख्यमन्त्री नियुक्ति होस् भन्ने चाहेको थियो । तर प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार दिउँसो ३ बजेसम्म समय रहेकाले त्यसपछि निर्णय लिने बताइन् ।
मुख्यमन्त्रीमा नियुक्तिको पर्खाइमा रहेका विपक्षी सांसदहरु पृथ्वीसुब्बा गुरुङको दाबी परेको सुन्नासाथ प्रदेश प्रमुख कार्यालय आइपुगे । उनीहरुले जसपा संसदीय दल र दुवै सांसदको समर्थन नेपालीलाई रहेको भन्दै गुरुङले पेश गरेकोे दाबी नक्कली भएको बताए । जनमोर्चाकी सचेतक पियारी थापाले पनि पार्टी साधारण सदस्य समेत नरहेका र सांसदबाट पदमुक्त भइसकेकाले कृष्ण थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नु संवैधानिक अपराध भएको बताएकी छन् ।
कांग्रेस प्रदेशसभा सदस्य कुमार खड्काले बहुमतलाई स्वीकार नगर्ने हो भने निषेधाज्ञा तोडेर प्रतिगमनविरुद्ध राजनीतिक आन्दोलन गर्ने र अदालत पनि जाने चेतावनी दिएका छन् ।








प्रतिक्रिया