गगनको आक्रोश : चुरेको ढुङ्गा, गिट्टी, बालुवा निकासी नीतिगत भ्रष्टाचार हो, प्रतिरोध गरौं

काठमाडौं

नेपाली काँग्रेसका नेता गगन थापाले बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर नीतिगत भ्रष्टाचार गरिएको बताएका छन् ।

सरकारद्वारा १५ जेठमा अध्यादेशमार्फत सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने उल्लेख छ ।

बुधबार विहान थापाले ट्वीटरमा लेखेका छन्, ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम’ घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ। वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ। ‘यो नीतिगत भ्रष्टाचार हो।’

आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनःछर्लङ्ग भएको थापाको भनाइ छ ।

‘चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो। यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ,’ उनले भने ।

आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न थापाको आह्वान छ ।

‘अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै। आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु,’ उनले लेखेका छन् ।

प्रतिक्रिया

खबर सबै