चार देशमा अब हप्ताको ७ नियमित अन्तर्राष्ट्रिय उडान हुने 

काठमाडौं, चार देशमा अब हप्ताको ७ नियमित अन्तर्राष्ट्रिय उडान हुने भएका छन्। मन्त्रिपरिषदले चीन, कतार र टर्कीमा पनि नियमित उडान खुल्ला गरेसँगै ७ उडान हुने भएका हुन्। अहिले भारतमा हप्ताको दुई उडान हुँदै आएको छ। बुधबार र शुक्रबार नेपाल एयरलाइन्स र एयर इन्डियाले दुई उडान गर्दै आएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले टर्किस एयरलाइन्सले बिहीबार उडानको अनुमति पाइसकेको जानकारी दिए। क्षेत्रीका अनुसार चीनको एउटा एयरलाइन्स र नेपालको हिमालय एयरलायन्सले चीनमा नियमित उडान गर्न पाउनेछन्। त्यस्तै कतारको दोहामा कतार एयरलाइन्स र नेपाल एयरलाइन्सले हप्ताको एउटा उडान गर्नेछन्।

‘टर्कीमा नेपाली हवाइ कम्पनीको नियमित उडान छैन, त्यसैले टर्किस एयरलाइन्सको एउटा मात्रै उडान हुन्छ’, प्राधिकरणका प्रवक्ता क्षेत्रीले भने, ‘चीन र कतारमा सम्बन्धित देशको जहाज र नेपाली कम्पनीले पाउँछन्।’

यसअनुसार अब चीन, कतार र भारतमा हप्ताको दुई उडान हुनेछन् भने टर्कीमा एक उडान हुनेछ। तर नेपाल भारत उडानमा भने दुई देशका नागरिक मात्रै आउजाउ गर्न पाउनेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट आउने नेपाली तथा विदेशीले नेपालमा आउँदा १० दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ।

मलेसियासहित खाडी मुलुक बस्ने नेपालीले भने ५ दिन होटल क्वारेन्टिन र १० दिन होम क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

खबर सबै