

एमाले एकता जोगाउन अध्यक्षविरुद्ध हस्ताक्षर गरिन : योगेश भट्टराई



एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपा (एमाले) एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सहि वा गलत के गरेको भन्ने कठोर मूल्यांकन इतिहासले गर्ने उल्लेख गरेका छन् ।
‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, एमालेका माधव नेपालसहितका विपक्षी दलका नेताहरु पनि १४९ जना सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकारको दाबी शीतल निवास बुझाएका छन्। विपक्षी गठबन्धनले बुझाउन तयार गरेको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै एमालेका केही सांसदहरूले आफूहरू त्यो प्रस्तावमा सहभागी नभएको बताएका थिए । नेता भट्टराईले समेत आफूले विपक्षी दलका नेताको नाममा हस्ताक्षर नगरेको दाबी गरेका हुन् ।
यसअघि भने भट्टराई एमाले माधवकुमार नेपाल समूहको प्रमुख नेताको रुपमा परिचित थिए । नेता नेपालका हरेक कदमलाई साथ दिएका भट्टराईले शुक्रबार विपक्षी गठबन्धनमा लाग्ने प्रस्तावलाई अस्वीकार गरेका हुन् । यसले माधव नेपाल समूहसमेत विभाजित भएको प्रष्ट भएको छ ।
राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकारको दाबी प्रस्तुत गर्न दिएको समय शुक्रबार पाँच बजे सकिएको छ।
राष्ट्रपतिले दिएको समयभित्र सरकार गठनका लागि प्रधानमन्त्री केपी ओली र विपक्षी गठबन्धन दुवैतर्फबाट दाबी प्रस्तुत भएको छ। दुवै दाबी पत्रको अध्ययन गरेर संविधान कानुनबमोजिम निर्णय लिने र कदम चाल्ने जानकारी राष्ट्रपति भण्डारीले दलहरूलाई दिएकी छन्। दलहरुले राष्ट्रपतिको निर्णय पर्खेका छन्।


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया