विज्ञप्ति युद्धमा कपिलवस्तुका एमाले भातृ संगठनहरु

राजेन्द्र खनाल
कपिलवस्तु ।
प्रतिनिधि सभा पुर्नस्थापना पछि तीन टुक्रामा विभाजित बन्दै बिउँतिएको नेकपा एमालेको राजनितिक विग्रहका कारण सो पार्टीका भातृ संस्थाहरुमा पनि मनमुटावको स्थिति पैदा भएको छ ।
पार्टी भित्रको राजनितिक विभाजन र कलहका कारण एमाले भित्रका विभिन्न भातृ संगठनहरु पनि विवादको घेरामा उभिएका छन् । पार्टी भित्रको केन्द्रको विवाद अहिले जिल्ला तह सम्मै प्रष्ट रुपमा देखिन थालेको छ । नेकपा एमाले भित्र मुख्य गरी केपी ओली पक्ष, माधव नेपाल झलनाथ खनाल पक्ष र बामदेव गौतम पक्षका विचमा देखिएको विवद जिल्ला तह सम्म देखिएको हो ।
नेकपा एमाले निकटको प्रेस चौतारी कपिलवस्तुले जिल्लामा समान्नातर कमिटी बनाई विधान विपरित संगठनको गतिविधी गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ भने संगठनको नाम, नारा, झन्डा सहित ब्यानर दुरुपयोग गरेको पाइएकोले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै चौतारीले नेपाल पत्रकार महासंघको चुनाव नजिकिदै जादा जिल्लामा प्रेस चौतारीको जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीलाई चुनौती दिदैं समान्नातर ढंगबाट गतिविधि गर्ने, स्वयम आफै उम्मेद्वारी घोषणा गर्ने र मत माग्ने गरेको भन्दै यस प्रकारका कृयाकलाप नगर्न आग्रह गरेको हो ।
निर्वाचन नजिकिएसंगै प्रेस चौतारी नेपाल कपिलवस्तु पनि चुनावी मैदानमा रहेको भन्दै अन्य विभिन्न संगठनहरुसंग सहमती र सहकार्य गरी अगाडी बढ्न चाहेको विज्ञप्ती मार्फत जनाइएको छ ।

तर आधिकारिक कमिटीलाई जानकारी नदिई केही जिम्मेवार सदस्यहरुलेनै समानान्तर गतिविधी, उम्मेदवारी घोषणा, अन्य छलफल जस्ता कार्य गरेकोले उक्त कार्य मान्य नहुने चौतारीका जिल्ला अध्यक्ष हरि अधिकारीले बताउनुभयो ।
प्रेस चौतारी कपिलवस्तुले महासंघको चुनावको आधिकारीक उम्मेदवारी चाडै घोषणा गर्ने भएकाले कमिटीमा हुने छलफल र निर्णय विनाका गतिविधिका पछि नलाग्न पनि आम संगठनका नेतृत्वहरुलाई चौतारीका जिल्ला सचिव बाबुराम रायमाझीले आग्रह गर्नुभयो ।
यसका साथै संगठन विपरित गतिविधि गरेको पाइए सम्बन्धित ब्यक्तीलाई संगठनको विधान अनुसार कारबाही प्रक्रिया अगाडी बढ्ने विज्ञप्ति मार्फत जनाइएको छ ।
उता नेपाल कम्युनिट पार्टी एमालेको विद्यार्थी संगठन अनेरास्ववियू कपिलवस्तुले पार्टी र संगठनका ब्यानर, पर्चा, पम्प्लेट जस्ता सामग्री दुरुपयोग गरेको भन्दै एक विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
साथै त्यस्ता कार्य गरेको पाईएमा संगठनको गरिमा उचो बनाउनका निम्ति संगठनले उचित कारवाही गर्ने पनि अनेरास्ववियु कपिलवस्तु जिल्ला संयोजक बाबुराम अर्यालको हस्ताक्षर सहितको विज्ञप्ति मार्फत चेतावनी दिईएको छ ।

प्रतिक्रिया

खबर सबै