कपिलवस्तुमा पहिलो चरणको ८० प्रतिशतले लिए कोरोना खोप

राजेन्द्र खनाल/कपिलवस्तु ।
नेपालमा कोरोना संक्रमण विरुद्धको खोप अभियानको आज आठौं दिन १ लाख ४५ हजार भन्दा बढी व्यक्तिले कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका छन्। यता कपिलवस्तु जिल्लामा पनि आज सम्म कुल एक हजार ६ सय २६ जनाले यो खोप लिएका छन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमूख अनिल के.सीका अनुसर अन्य जिल्लाको तुलनामा कपिलवस्तु जिल्ला धेरै अगाडी गएको बताउनुभयो । जिल्लामा आज सम्म ८० प्रतिशत खोप अभियान सकिएको छ । कुल २ हजार ४३ जनालाई पहिलो डोज दिने लक्ष्य लिइएको र सरकारको निर्देशन पनि सोही भएका कारण अझै दुई दिन मा लक्ष्य भन्दा बढी उपलब्धि हुने के.सीले बताउनुभयो ।

यद्यपी सरकारको निर्देशन अनुसार जिल्लामा रहेका कैदिवन्दीहरुलाई पनि खोप दिने निर्देशन रहेको हुँदा कपिलवस्तुमा कैदिवन्दिको संख्या धेरै रहकाले केही समस्या हुन सक्ने उहाँले बताउनुभयो । कपिलवस्तु स्थित जिल्ला कारागारमा अहिले ४ सय भन्दा बढी कैदीवन्दीहरु छन् । उनीहरुलाई खोप दिन खोप अपर्याप्त हुन सक्ने केसीले बताउनुभयो । दैनिक २ सय ५ जनालाई खोप दिनुपर्ने सरकारको निर्देशन रहे पनि कपिलवस्तुमा भने सो भन्दा बढीले खोप लिएका छन् । कोरोना विरुद्धको पहिलो डोज खोप लिएको व्यक्तिले त्यसको ठीक एक महिना पछि फेरी अर्काे डोज लिनुपर्ने हुन्छ । जसका लागि कपिलवस्तुमा ४ हजार ५ सय डोज खोप आएको थियो । अहिले झण्डै ८० प्रतिशत ले खोपको पहिलो डोज लिइसकेका छन् ।

यसैबिच उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार खोप अभियानको ८ औं दिन २०१ वटा खोप केन्द्रबाट ७७ जिल्लाका १ लाख ४५ हजार ८४४ जना व्यक्तिले खोप प्राप्त गरेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार प्रदेश १ मा २० हजार १५५ जना, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५० जनाले खोप लगाएका छन्। यस्तै गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिममा १० हजार एक जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियानमा ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने लक्ष्य राखेको थियो।

तर, खोप अभियानको एकसाता पुरा भइसक्दा खोप लगाउनको संख्या भने २ लाख पनि पुगेको छैन। स्वास्थ्य मन्त्रालयले अबको तीनदिन भित्रमा पहिलो चरणको खोप अभियान पुरा हुने जनाएको छ।

पहिलो चरणमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितको स्वास्थ्य उपचारका लागि खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी लगायतलाई खोप लगाइएको छ ।

प्रतिक्रिया

खबर सबै