वाटमोरको गर्विलो इतिहास
वाटमोर श्रीलंकाको कोलम्बोमा जन्मेका हुन् । सन् १९६२ मा परिवार बसाई सरेपछि अष्ट्रेलिया पुगेका उनले त्यहाँको राष्ट्रिय टिमबाट खेल्ने अवसर पनि पाए । दशक लामो खेलाडी जीवनबाट १९८८/८९ मा सन्यास लिएका उनी त्यसपछि प्रशिक्षणतिर लागे । श्रीलंकाले १९९६ मा विश्वकप जित्दा वाटमोर प्रशिक्षक थिए ।
श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगे । उनले दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताए । त्यसपछि फेरि श्रीलंका फर्किएका उनलाई १९९९ को विश्वकपमा भने सफलता हात लागेन । २००३ को विश्वकपमा भने श्रीलंकालाई उनले सेमिफाइनलमा पुर्याए ।
श्रीलंका क्रिकेटको रूपान्तरणबाट प्रभावित बंगलादेशले उनलाई प्रशिक्षक बन्न प्रस्ताव गर्यो । उनले श्रीलंकाकै जस्तो सफलता त दोहोर्याउन सकेनन्, तर २००५ मा बंगलादेशले (जिम्बाब्वेविरुद्ध) पहिलो टेष्ट म्याच जित्यो भने कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हरायो । २००७ को विश्वकपमा बंगलादेश ‘सुपर–एट’ का लागि छनोट पनि भएको थियो ।
बंगलादेश छाडेपछि उनी भारत र इंग्ल्याण्डको प्रशिक्षकका दावेदार पनि थिए । तर इंग्ल्याण्डले पिटर मोरेस र भारतले रवि शास्त्रीलाई प्रशिक्षक बनायो । २००७ मा उनी भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक बने भने यू–१९ टिम पनि सम्हाले । त्यही बेला भारतले यू–१९ विश्वकप जित्यो । २००८ मा मलेसियामा भएको प्रतियोगितामा भारतीय कप्तान विराट कोहली थिए ।
२०१० र २०११ मा आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक रहेका उनले ४ मार्च २०१२ मा पाकिस्तान टिमको प्रशिक्षक नियुक्त भए । उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेको थियो । पाकिस्तानमा सम्झौता सकिएपछि जिम्बाब्वे पुगेका उनले त्यहाँ पूरा काम गर्न पाएनन् ।
२०१७–१८ मा केरला क्रिकेट एशोसिएसनको मुख्य प्रशिक्षक रहेका उनी केरला क्रिकेटमा दीर्घकालीन प्रभाव छाड्न सफल भएको मानिन्छ । २०२० फेब्रअरीदेखि वाटमोर सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए ।



















प्रतिक्रिया