

मोदीलाई प्रधानमन्त्री ओलीको सन्देश, इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं,



मंसिर १२, ई–साझाकुरा
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताबाटै समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलासँग बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्याइदिन आग्रह गरेका हुन्।
ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार सचिव श्रृंगलाले दुई देशबीच आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश सुनाएका थिए।
‘सीमा लगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपले समस्या समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ उक्त भेटमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सल्लाहकार भट्टराईले भने, ‘हाम्राबीच सीमा विवाद एकाएक सिर्जना भएका होइनन्। इतिहासले विरासतमा छाडेका समस्या हुन्। यसलाई थाती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौं। यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्छु।’
यसअघि भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरी शुभकामना दिएका थिए। त्यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने बताएका थिए।
प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिवसँगको भेटमा नेपालको भू-भाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराए। नेपाल तटस्थ रहेर कसैको पनि ‘कार्ड’ का रूपमा प्रयोग नहुने उनले बताए।
भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसलाई संघीय संसदबाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो।
त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएको स्थितिमा पछिल्ला समय भारतीय पक्षबाट भएका नेपाल भ्रमण र भेटवार्ताले वातावरण सहज हुँदै गएको छ।
गत महिना भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए।
बिहीबारै नेपाल आएका भारतीय विदेश सचिव शृंगलाले दिउँसो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए भने दुई मुलुकका परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ताको नेतृत्व गरेका थिए।
उनले बिहीबार साँझ शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरे। उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गरेकी छन्।


खबर सबै
-
‘ह्वाइट टेम्पल’ झल्किने महोत्सव प्रवेशद्वार, स्तूपाको परिक्रमा गर्दै दर्शकले पाउनेछन् प्रवेश
-
रिडीमा ‘रुरु महास्नान’ को तयारी
-
ध्वनि प्रदूषण नियन्त्रणमा रुपन्देही प्रशासनको कडाइ
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर







प्रतिक्रिया