दाङको बंगलाचुली गाउँपालिको निर्णय : तीन महिना चुनढुङ्‌गा बोक्ने टिप्पर नचलाउनु

असोज २५, दाङ
दाङको बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगहरूमा चुनढुङ्गा ढुवानी गर्ने सबै टिप्पर चलाउन तीन महिनासम्म रोक लगाउने भएको छ।
शनिवार गाउँकार्यपालिका बैठकले मदन भण्डारी लोकमार्गमा पर्ने घोराही(कमिरचौर सडकखण्ड कालोपत्रे नहुँदासम्म र तापाचोक(तापाखानी क्षेत्र पुग्ने सडक खण्डलाई तत्काल कालोपत्रे प्रक्रिया अघि नबढाउँदासम्म चुनढुङ्गा ढुवानी गर्ने सबै टिप्परहरू चलाउन नदिने निर्णय भएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए। घोराही र सम्राट सिमेन्ट उद्योगका लागि गाउँपालिका क्षेत्रबाट चुनढुङ्गा ढुवानी गर्ने सयौँ टिप्परका कारण मदन भण्डारी लोकमार्गको अवस्था जीर्ण हुँदा वर्षामा हिलो र हिउँदमा धुलो भई यस क्षेत्रका हजारौँ जनताले निकै सास्ती खेप्नु परेको छ। यसकारण सडक कालोपत्रे नहुँदासम्म टिप्परहरू चल्द नदिने उनले जानकारी दिए। यसैबीच, गाउँपालिकाले सडक कालोपत्रे गर्ने जिम्मा लिएको जलजला निर्माण सेवा प्रालिलाई समयमै कालोपत्रे सक्नेगरी काम लगाउन सडक डिभिजन कार्यालय घोराहीलाई अनुरोध पनि गरेको छ।
तोकिएको समयभित्र कालोपत्रे नगर्दा जनताले सास्ती भोग्नु परेको स्मरण गराउँदै समयमै काम सक्न ताकेता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताए।

प्रतिक्रिया

खबर सबै