माओवादी केन्द्रद्धारा दुई नम्बर प्रदेश सरकारको राजिनामा माग

ई–साझाकुरा, भदौ २० 

जनताको समस्यामा ध्यान नदिएको आरोप (विज्ञप्तीसहित) विभिन्न घटनाका दोषीहरुलाई कारबाहीको माग सुमन वाङ्देल सिरहा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा आम नागरिकहरुमा जीवनयापनको समस्या बढ्दै गएको भएपनि सरकारले त्यसमा खासै ध्यान नदिएको र जनतालाई लकडाउन वा निषेधाज्ञाको नाममा घरमा बन्द गराएको भन्दै नेकपा (माओवादी केन्द्र) ले सरकारको राजिनामा माग गरेको छ ।

नेपाल कम्यनिष्ट पार्टी (माओवादी केन्द्र) को दुई नम्बर प्रदेश समितिले एक विज्ञप्ती जारी गर्दै जनताको समस्याको हल नगरिएको र विभिन्न घटनाहरु बढेको कारण देखाउँदै दुई नम्बर प्रदेश सरकारको राजिनामा माग गरेको हो । माओवादी केन्द्रको दुई नम्बर प्रदेश समितिका अध्यष बब्लु सिंहद्धारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा कोरोना महामारीको समयमा समेत प्रदेश अन्तर्गत विभिन्न जिल्ला, क्षेत्रहरुमा हत्या, हिंसाका घटनाहरु घटेको र त्यसका दोषीहरुलाई राज्यसंयन्त्रले संरक्षण गर्ने हर्कत गरेको आरोप समेत लगाइएको छ ।

उक्त विज्ञप्तीमा विभिन्न घटनाहरु बढ्नुले मुलुकको गृह प्रशासन र प्रदेश सरकारको असफलता भन्दै जनताको न्याय र सुव्यवस्थाको काम गर्न नसक्ने सरकारले राजिनामा दिनुपर्ने भनिएको छ । साथै विज्ञप्तीमा कोरोना संक्रमणसँगै नागरिकको खाने, बस्ने र बाँच्ने समस्या बढेको अवस्थामा सरकारले जोखिममा जीवननिर्वाह गरिरहेका नागरिकको लागि कुनै प्रकारको सहयोग पुर्याउने कार्यक्रम, राहत, उद्धारलाई कार्यान्वयन नगरेको भन्दै माओवादी केन्द्रले सरकारको व्यापक विरोध गरेको छ ।

बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ….. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दुई नम्बर प्रदेश समिति मितिः १६ भाद्र २०७७ प्रेस विज्ञप्ती । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण समग्र अवस्थामा परेको प्रभाव हाम िसबैले भोगिरहेको विषय हो । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी तीन तहका सरकार भएता पनि नेपालमा विभिन्न स्थानमा अमानविय घटनाहरु घट्नेक्रम अझ दिनप्रतिदिन बढिरहेकै छ । महामारीको यस्तो विषम परिस्थितिमा पनि प्रदेश नम्बर दुईको विभिन्न स्थानमा घटेका घटनाहरु यस प्रकार रहेका छन…

१. माधवनारायण नगरपालिका हनुमान मन्दिरका पूजारी ‘श्री राम साह’ को हत्याकाण्ड ।

२. गरुडा नगरपालिका जिङ्गडियामा भएका हत्याकाण्डमा समातिएका दोषीहरुमध्ये एकजनालाई प्रहरी हरासतमा प्रहरीले कुटपिट गरी जयान लिएको र डिएसपीले दलितको लासमाथि नै राजनीति गर्नु ।

३. त्यसैगरी कोरोनाको नाममा उपचारको लागि बनाइएको कोटाबाट सर्वसाधारण जनतालाई उपचार र स्वास्थ्य परीक्षण गरी निरोगी तथा स्वस्थ्य व्यक्तिको कोरोना पोजेटिभ रिपोर्ट देखाई उनीहरुको स्वास्थ्यमाथि खेलवाड गर्नु ।

४. माधोपुर वडा. नम्बर ६ मा सुत्ने खाने बस्ने कुनैपनि व्यवस्था नभएको ठाउँमा लगेर क्वारेन्टाइनमा राख्नु ।

५. प्रदेश २ को धनुषामा प्रहरी हिरासतमा सम्भु सदाको मृत्यु, प्रादेशिक अस्पताल जनकपुरधाममा राजु सदाको मृत्यु, सप्तरीमा त्रिभूवन रामको हत्या, सिरहामा रोशनरामको हत्या लगाएत मधेशमा दलित समुदायमाथि श्रृखलाबद्ध रुपमा हत्या, हिंसा तथा विभेदका घटनाहरु हुनु ।

६. रुकुममा अमानविय तरिकाबाट ६ जना दलित युवाहरुको ज्यान लिनु आदी । विद्या भण्डारी तथा महिला नै राष्ट्रपति हुँदा पनि देशमा बलात्कारीका समस्या झनै बढ्नु, यस्तो कोरोनाको महामारीको समयमा हरेक नेताहरु आफ्नै मोजमस्तीमा बसी देशभरीका सर्वसाधारण जनतालाई ६ महिनादेखि लकडाउन लगाई घरमा मात्र राख्नु र खानपिनको व्यवस्था नगर्नु, कोरोनाको महामारीमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीहरुको भत्ताँ उपलब्ध नगर्नु, दुई तिहाईको सरकारको अध्यक्षतामा हत्याहिंसा बढ्नु, तिन तहकै सरकारको ध्यान भ्रष्टाचारमा मात्र रहनु, आदि समस्याले देशनै धरापमा परेको छ ।

उल्लेखित विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुका साथै उल्लेखित बुँदाहरुका दोषीमाथी हदैसम्मको कारबाही माग गर्दछौं । र कोभिड १९ महामारीको विषय परिस्थितिमा पनि गृहमन्त्री तथा प्रदेश सरकारले देशमा सुशासनको व्यवस्था कामय राख्न नसकेकाले यसै विज्ञप्ती मार्फत उहाँहरुको राजिनामा माग गर्दछौं ।

प्रतिक्रिया