मोरङको केराबारी गाउँपालिका भवनअगाडि एउटा सटरमा हातले लेखिएको यस्तो सूचना शनिबारदेखि टाँसिएको छ।
सटरबाहिर बिहान ९ देखि १० बजेसम्म एउटा टेबल हुन्छ। टेबलमाथि चामल, दाल, तेल, नुन र सोयाबिनका पोका छन्। यी सामग्री लिन बिहान एक घन्टा लाम लाग्छ।
कोरोना महामारी र लकडाउनले दैनिकी ज्याला-मजदुरी गरेर खानुपर्नेलाई एक छाक टार्न पनि धौधौ छ। उनीहरूलाई थोरै भए पनि राहत होस् भनेर नेपाल तरुण दल, केराघारीमार्फत् ‘फुड बैंक’ सुरू गरिएको हो।
सक्नेले आफूसँग भएका खाद्य सामग्री उपलब्ध गराउने र त्यही सामग्री नहुनेलाई नि:शुल्क बाँड्ने उद्देश्यले यो अभियान सुरू गरिएको तरुण दलका स्थानीय अध्यक्ष पप्पु साहले बताए।
‘अहिले मजदुरी र ज्यालादारी गर्नेहरूको काम ठप्प छ। उनीहरू रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति छ। हाम्रो तर्फबाट समस्याको हल खोज्ने क्रममा फुड बैंक सुरू गरिएको हो,’ साहले सेतोपाटीसँग भने, ‘हामी सकेको गर्दैछौं।’
उनका अनुसार यो अभियानमार्फत् पछिल्लो तीन दिनमा तीन सयभन्दा बढीलाई राहत वितरण गरिएको छ।
शनिबार सुरू फुड बैंकमा राहत लिन आउनेको संख्या दैनिक बढेको साह बताउँछन्। शनिबार ६० जना आएका थिए। आइतबार यो दर बढेर ८० पुग्यो। सोमबार दुई सयभन्दा बढीले आफूलाई चाहिएका सामग्री लगिसके।
अहिले फुड बैंकले २ किलो चामल, १ प्याकेट नुन, आधा लिटर तेल, आधा किलो सोयाबिन र आधा किलो दाल वितरण गर्दैछ। खाद्यान्न सामग्री लिन आउनेको संख्या बढ्दो छ। उनीहरू कुन वर्गका हुन् र साँच्चि नै राहत चाहिने हुन् कि होइनन् भनी छुट्टयाउन गाह्रो छ। त्यही भएर अहिलेलाई थोरै सामग्री मात्र वितरण गरेको साह बताउँछन्।
‘धेरै धेरै दिन थाल्यौं चाहिने-नचाहिने जो पनि आउन सक्छन्। राहत चाहिने मान्छे मात्र लिन आऊन् भनेर हामीले थोरै थोरै सामग्री दिने व्यवस्था गरेका हौं,’ उनले भने।
राहत वितरण र व्यवस्थापनमा दलका झन्डै १५ जना पालैपालो खटिन्छन्। लिन आउनेहरूलाई सामाजिक दुरी अनिवार्य गरिएको छ। उनीहरूले दुई-दुई मिटरको दुरीमा गोलो घेरा कोरेका छन् र केही दुरीमा रहेर मात्र सामग्री वितरण गर्छन्।
यही टोलीले पहिलो लकडाउनमा पनि खाद्य सामग्री वितरण गरेको थियो। उनीहरूले टोल सुधार समितिको सहयोगमा घर-घर पुगेर राहत बाँडेका थिए। उक्त अभियान झन्डै दुई साता चल्यो। त्यस क्रममा ५ किलो चामल, आधा किलो दाल, आधा किलो सोयाबिन, एक प्याकेट नुन र १ लिटर तेल वितरण गरिएको थियो। गाउँपालिकाको राहत वितरण सुरू भएपछि उनीहरूले बन्द गरेका थिए।
त्यसपछि साउन अन्त्यतिर उनीहरू मास्क वितरणमा लागे। ठाउँ-ठाउँमा हात धुन साबुनपानीको पनि व्यवस्था मिलाए। मास्क वितरण गर्न झन्डै १० दिन मास्क बैंक चलाएका उनीहरूले त्यही ‘आइडिया’ अहिले अलि ठूलो रूपमा अघि बढाएका हुन्।
‘हामीले फुड बैंक परीक्षणका रूपमा सुरू गरेका थियौं। यतिका मान्छे आउनुहोला भन्ने सोचेकै थिएनौं। सहयोग गर्नेहरू पनि धेरै हुनुहुन्छ,’ उनले भने।
उनका अनुसार फुड बैंकका लागि हालसम्म ५० हजार रूपैयाँभन्दा बढीको आर्थिक सहयोग जुटेको छ। सहयोगी हातहरू बढेको देखेर खुसी व्यक्त गर्दै साह भन्छन्, ‘अब यसलाई कसरी व्यवस्थित ढंगबाट अघि बढाउने भनेर छलफल गरिरहेका छौं।’
वडाको सहयोगमा यो अभियान चलाउन सके धेरैलाई राहत हुने उनको भनाइ छ।
‘एकअर्कालाई सहयोग गर्नु नै मानव धर्म हो,’ साह भन्छन्, ‘रोग र भोक कोही मर्न नपरोस् भनेर सक्दो कोशिस गर्दैछौं। सहयोगी हातहरू हुनुहुन्छ, हौसला पनि बढेको छ।’
प्रतिक्रिया