अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूति सेवा बाहेक अन्य सेवा बन्द

ई-साझाकुरा, भदौ ८

अर्घाखाँची जनस्वास्थ्य कार्यालयमा कार्यरत दुई जना स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूति सेवा बाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

जनस्वास्थ्य र अस्पतालका स्वास्थ्यकर्मीको स्वाब परिक्षणका लागि भैरहवा पठाईएको र परीक्षणको रिपोर्ट नआउँदासम्म सेवा बन्द गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय प्रमुख पुष्पा थापाले बताईन् । आइतबार दुई स्वास्थ्यकर्मी र एक कार्यालय प्रमुखलाई संक्रमण देखिएपछि १०२ जनाको स्वाब संकलन गरि पठाईएको छ ।
आईतबार स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्ति र कार्यालय प्रमुख रहेको ७ जना कर्मचारीसहित ६२ जना र सोमबार अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमसहित ५ जना डाक्टर र अन्य स्वास्थ्यकर्मी गरी ४० जनाको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाल भैरहवा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका निरिक्षक गणेशराज पौडेलले बताए ।
अस्पतालको आकस्मिक र प्रसूति सेवा सुचारु गर्न यस अघि पीसीआर रिपोर्ट नेगेटिभ आएका तिन जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी खटिएको र म सहित ५ जना डाक्टरको रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्ने जिल्ला अस्पतालका डा कपिल गौतमले बताए । अस्पतालको ईमर्जेन्सी र प्रसुती सेवा बाहेक अन्य सेवा ठप्प भएपछि अन्य रोगी सर्वसाधारणले सास्ती पाएका छन् ।

प्रतिक्रिया