शर्तसहित सरकारले भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न दिने

ई–साझाकुरा, भदौ ५

सरकारले यही भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट शर्तसहितको नियमित उडान सुरु गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार विहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले दैनिक पाँच सय यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले उडान तालिका बनाउने जानकारी पनि दिनुभयो । उक्त उडानहरुमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्ने बताइएको छ ।

साथै, उनीहरुको ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने र काठमाडौंमा आएपछि सात दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

त्यस्तै, पीसीआर टेष्ट गरेका ÷ नगरेका सबै यात्रुहरु एउटै विमानमा आएमा सबैलाई क्वारेन्टाइनमा राखिने तर, सबै खर्च भने एयरलाइन्सले व्यहोर्नुपर्ने पनि सरकारले निर्णय गरेको जानकारी गराइएको छ ।

नेपाल फर्कने नेपाली नागरिकहरुले टिकट काट्ने बेलानै होटेल क्वारेन्टाइनको समेत मूल्य तिर्नु पर्ने र उक्त रकम वायुसेवा कम्पनीले होटेललाई भुक्तानी गर्ने जनाइएको छ ।

प्रतिक्रिया