

विराटनगरमा सरकारले अर्को पिसिआर मेसिन दिएन, मेयरले आफ्नै तलबभत्ता कटाएर जुटाए पैसा



ई–साझाकुरा, भदौ ५
प्रदेश सरकार र संघीय सरकारले कोरोना परीक्षणको पिसिआर मेसिन नदिएपछि विराटनगर महानगरपालिकामा निजीस्तरबाट खरिद गरिने भएको छ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पिसिआर मेसिन खरिदको नेतृत्व लिएका छन्।
पिसिआर उपकरण खरिदका लागि आवश्यक रकम जुटाउने काम अन्तिम चरणमा पुगेको र सम्भवत: शुक्रबार नै उपकरण आइपुग्ने उनले बताए।
पिसिआर खरिदका लागि मेयर पराजुली आफैंबाट सहयोग जुटाएका छन्। आफ्नो एक वर्षको तलब-भत्ताबापत पाँच लाख रुपैयाँ खर्च उपलब्ध गराएका छन्।
विराटनगरमा अहिले समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिरहेको छ। त्यहाँको कोसी अञ्चल अस्पतालमा एउटा मात्र पिसिआर मेसिन छ।
‘संक्रमण बढेको बढै छ, परीक्षण गर्ने मेसिन एउटामात्र छ, कम्तिमा एउटा पिसिआर तत्काल आवश्यक पर्यो,’ पराजुलीले भने, ‘तर, प्रदेश र संघीय सरकारले पिसिआर दिएन। अर्काको मुख ताक्नुभन्दा समयमै किनेर ल्याउनु उचित ठानी हामीले सहयोग जुटाउन थाल्यौ।’
पिसिआर उपकरण खरिदका लागि आह्वान गरिएको सहयोग समितिमा अहिलेसम्म ३० लाख रकम जुटिसकेको मेयर पराजुलीले बताए। पिसिआर मेसिन करिब साढे ३१ लाख रुपैयाँसम्ममा पाइने उनले बताए।
पिसिआर मेसिन ल्याउने जिम्मा व्यवसायी प्रदीप मुरारकालाई दिइएको छ। सो मेसिनको गुणस्तर परिक्षण गर्न कोसी अञ्चल अस्पतालका डा. कामना शर्मा र सुशील तापडियालाई दिइएको छ।
‘आज साँझ नै पिसिआर काठमाडौंदेखि आउने कुरा छ, भोलिदेखि हामी परीक्षण सुरू गर्छौं,’ उनले भने।
पिसिआर मेसिन कोसी अस्पतालमै राखिने छ।
‘अहिले परीक्षण रिपोर्ट पर्खिन पाँच-छ दिन कुरिरहनु परेको छ,’ पराजुलीले भने, ‘अर्को मेसिन आएपछि परीक्षणको दायरा दोब्बर बढ्ने भयो।’
पिसिआर खरिद गर्ने मेयरको पहललाई सांसद केदार कार्कीले एक लाख रुपैयाँ दिएर सहयोग गरे। उद्यमी तथा उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतले ७ लाख, प्रदीप मुरारकाले ५, भीम घिमिरेले एक लाख दिएका छन्। यस्तै, पिसिआर मेसिनका लागि तुलसीराम अग्रवाल र गोल्छा हाउसले पाँच-पाँच लाख रकम दिएका छन्।
मोरङ व्यापार संघले सात लाख रुपैयाँ दिएको छ। उद्योग संगठन मोरङले १४ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
यसरी सर्वपक्षीय लगानीमा खरिद गर्दा बोलपत्र आह्वान गर्नु नपर्ने भएकाले छिटो र छरितो ढंगले पिसिआर ल्याउन सकिने मेयर पराजुलीको भनाइ छ।
पराजुली नेतृत्वले सहयोग जुटाएर आरएन एक्ट्राक्सन उपकरण किन्ने योजना पनि अघि सारेको छ। ३० देखि ५० लाख रुपैयाँसम्म पर्ने यो मेसिनले स्याम्पलिङ छिटो गर्ने हुँदा परीक्षण बढ्ने मेयर पराजुली बताउँछन्।
हालसम्म विराटनगरमा संक्रमितको संख्या ७४५ पुगेको छ। महानगरपालिकाभरि मृतकको संख्या ७ जना पुगेको छ।
मेयर पराजुलीका अनुसार नगरमा आइसोलेसनको समस्या छ, भेन्टिलेटरको अभाव छ। प्रदेश सरकारले आइसोलेसन बेड र भेन्टिलेटर बनाएको छैन। अभावमा ३४१ जनालाई होम आइसोलेसनमा राखिएको छ। महानगरपालिकाको आइसोलेसनमा ६३ जनालाई राखिएको छ।
यहाँ ए-ग्रेडको कोभिड अस्पताल पनि छैन। हालसम्म ५० जना संक्रमित कोसी अञ्चल अस्पतालको कोभिड विशेष अस्पतालबाट निको भएर घर फर्केका छन्।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया