सोमबार राति मृत्यु भएपछि मंगलबार बिहान कोरोना पुष्टि भएकी तनहुँकी महिलाकी छोरीलाई पनि संक्रमण भएको पुष्टि भएको छ । रोगले च्यापेपछि आमालाई लिएर पोखरा आएकी छोरीमा पनि संक्रमण देखिएको हो ।
ब्यास नगरपालिका वडा नम्बर १ की ५० वर्षीया महिलाको २५ वर्षीया छोरीलाई पनि संक्रमण पुष्टि भएको कास्कीका जनस्वास्थ्य प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।
बिरामी भएर पोखरा आएका उनीहरु हस्पिटल चोकस्थित कास्की सेवा हस्पिटलमा पुगेका थिए । उनीहरु दुवै जनाको पोखरामै स्वाब नमुना लिएर परीक्षण गरिएको थियो ।
मंगलबार बिहान आमा–छोरीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ, जनस्वास्थ्य प्रमुख आचार्यले भने । अहिले उनीहरुको कन्ट्याक ट्रेसिङको तयारी भइरहेको तनहुँको ब्यास नगरपालिकाले जनाएको छ ।
मृत्यु भएकी महिलामा पहिलेदेखि नै सुगर, पे्रसर, मुटुको समस्या र निमोनियाको समस्या रहेको व्यास १ का वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए । अस्पताल ल्याइपुर्याउँदा स्वास्थ्य निकै कमजोर भइसकेको थियो ।
मृतकको शव व्यवस्थापनको तयारी गर्न जिल्ला प्रशासन कार्यालय कास्कीमा बैठक बसिरहेको छ ।
प्रतिक्रिया