निषेधाज्ञा उल्लंघन गर्दै चितवनका बैंकहरु, प्रशासन मौन
ई–साझाकुरा, भदौ २
विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको महामारीको खतरा बढेको भन्दै चितवन प्रशासनले जारी गरेको निषेधाज्ञाको यहाँका बैंक तथा बित्तीय संस्थाले अवज्ञा गरेका छन् ।
बैंकका शाखा प्रबन्धकहरुले कार्यालयमा हाँजिर हुन केन्द्रिय कार्यालयले निर्देशन दिएको भन्दै कर्मचारीहरुलाई दवाब दिने गरेको केही बैंकका कर्मचारीहरुले गुनासो गरेका छन् । एकातिर प्रशासनले सडकमा हिंड्न् रोक्ने अर्कोतिर बैंकले कर्मचारीहरुलाई कार्यालयमा उपस्थित हुन दबाब दिने गरेकोले दुःख पाईरहेको एक बैंकका कर्मचारीले नारायणी अनलाइनसंग गुनासो गरे । नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने–कहिले विहानै बोलाउ छ, कहिले १० बजेपछि लुकेर आउन भन्छ, निषेधाज्ञाको बेलामा कसरी कार्यालय जाने हामी समस्यामा छौं ।
बैंकहरुले नै भिडभाड गराउने तर कर्मचारीलाई सुरक्षित स्वास्थ्य सामग्री उपलब्ध नगराउने कार्यप्रति कर्मचारी नै असन्तुष्ट रहेका छन् । नाफा कम नहोस् भन्दै कर्मचारीलाई एक कप चिया समेत खान नदिएका बैंकहरुले मास्क तथा पन्जा लागायत सामग्री दिने कुरै आएन– एक कर्मचारीले नाम नखुलाउने सर्तमा भनिन् ।
निषेधाज्ञालाई सफल बनाउन चितवनमा प्रहरीले चेकजाँचलाई समेत कडा पारेको छ । तर बैंकले निषेधाज्ञा उल्लंघन गरेको बारेमा प्रशासन मौन छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा वित्तिय संस्थाहरु सबै बन्द गर्न निर्देशन दिएको बताए । उनले बैंक भित्रै बसेका कर्मचारीले आन्तरिक काम गर्न पाउने तर बाहिरी काम गर्न नपाइने बताए ।
जिल्ला प्रशासनले निषेधाज्ञाको सूचना जारी गर्दा बैंक तथा वित्तिय संस्थाहरु खोल्न नपाउने भनेर उल्लेख गरेको छ । तर आफ्नै निर्णय कार्यान्वयन नभएको बारेमा प्रशासन बेखबर छ ।
चेकजाँचमा खटिएका प्रहरीले पनि बैंक कर्मचारी भन्ने वित्तिकै निर्वाध रुपमा हिड्न दिइरहेका छन् । तर अन्य व्यक्तिहरु महत्वपूर्ण कामका लागि अस्पताल जाँदा वा अन्य महत्वपूर्ण कामका लागि हिड्दा धमाधम कारवाहीमा पर्ने गरेका छन् ।
प्रतिक्रिया