
सुत्केरी श्रीमती बचाउन राजकिशोरले दिए रगत, त्यही रगतले लियो श्रीमतीको ज्यान



ई–साझाकुरा, साउन २३
धनुषामा अस्पताल र रेडक्रसको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको छ।मृतकका परिवारका अनुसार गलत ब्लड ग्रुपको रगत चढाएपछि महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको शुक्रबार बिहान रामजानकी हस्पिटलमा मृत्यु भएको हो।
गंगालाई ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ समूहको ब्लड चढाउँदा रिएक्सन भएपछि शुक्रबार बिहान साढे ९ बजे उनको ज्यान गएको परिवारले जनाएको छ।
अस्पताल र रेडक्रसको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै परिवारजनले शव उठाउन मानेका छैनन्। उनको शव भने अहिले पनि अस्पतालको आइसियुमा राखिएको छ।
परिवारजनले शव उठाउन नमानेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारजन र रगतको पोका दिएका रेडक्रसका कर्मचारीलाई सोधपुछका लागि बोलाएको छ।
लापरबाही अस्पतालको कि रेडक्रसको?
गंगादेवी सुत्केरी हुने समय नजिकिएपछि श्रीमान् राजकिशोर महतो श्रीमतीलाई लिएर महोत्तरीको बर्दिवासस्थित स्वस्तिक अस्पतालमा जाँच गराउन पुगेका थिए। अस्पतालमा अल्ट्रासाउण्ड गराउँदा चिकित्सकले बच्चाको तौल साढे ३ किलो रहेको र आमा कमजोर रहेकोले अपरेशन नै गर्नु पर्ने सुझाए।
चिकित्सकको सल्लाहअनुसार नै आफूहरू जनकपुरधामस्थित रामजानकी हस्पिटल पुगेको मृतकका देवर रामहरि महतोले बताए। बिहीबार अपरान्ह ४ बजे अस्पतालमा भाउजूलाई भर्ना गरेको उनले जानकारी दिए।
‘यहाँका गाइनोलोजिष्ट डाक्टर शैलेन्द्र साहले अपरेशनबाट सुत्केरी गराउन सल्लाह दिएपछि सोहीअनुरूप अपरेशनको प्रकृया अगाडि बढाइएको हो’ रामहरिले भने। अपरेशनपछि गंगादेवीले छोरी जन्माएकी थिइन्।
अपरेशनअघि नै गंगादेवीलाई रगतको खाँचो पर्ने भन्दै १ पिन्ट रगतको व्यवस्थापन गर्न भनिएको थियो। रगतको व्यवस्था गर्न श्रीमान राजकिशोर र देवर रामहरि जुटेका थिए।
चिकित्सकहरूले गंगादेवीको ‘स्याम्पल’सहित रगत ल्याउन भनेका थिए। रेडक्रसले गंगगादेवीको रक्त समूह बी पोजेटिभ रहेको भन्दै श्रीमान राजकिशोरको पनि सोही समूह रहेकाले श्रीमतीका लागि एक पोका दिन सुझायो।
श्रीमानले रक्तदान गरे। रेडक्रसले दिएको रगतको पोका चिकित्सकले सुत्केरीलाई चढाउँदा झनै सिकिस्त हुन थालेपछि तत्काल आफूहरूले बन्द गरेको अस्पताल प्रशासन शाखाका प्रमुख विकासचन्द्र गुप्ताले बताए।
अस्पतालकै ल्याबमा रगतको जाँच हुँदा सुत्केरीको ब्लड ग्रुप ‘ओ पोजेटिभ’ देखियो। पछि रगत लिन जाँदा रेडक्रसले पनि ओ पोजिटिभ रगत नै दिएको गुप्ताले बताए।
उनले भने- ‘बी पोजिटिभ ब्लड ग्रुप ठहर गरेको रेडक्रसले सोही रगतलाई अर्को पटक कसरी ओ पोजेटिभ ठहर गर्यो। हामीलाई थाहा छैन, हामीले ल्याबमा जाँच गरेपछि मात्रै ओ पोजेटिभ रहेको थाहा पाएका थियौं, यो हाम्रो लापरबाही होइन रेडक्रसको लापरबाही हो।’
गंगादेवीमा अर्कै ब्लड ग्रुपको रगत चढाइएको कारण मृत्यु भएको भन्दै परिवारका सदस्य अहिले आक्रोशित छन्। मृतकका ससुरा अजवलाल महतोले भने ‘दोषीलाई कारबाही नभएसम्म हामी शव बुझ्दैनौं।’
यता श्रीमान राजकिशोर शोकाकुल छन्। आँखामा आँशु थाम्न नसकेका उनले भने, ‘मेरो सन्तान त स्वस्थ छ तर स्वास्थ्यकर्मीको लापरबाहीले श्रीमती रहिनन्।’
रेडक्रस धनुषाका सभापति नरेश सिंहले यस विषयमा अनुसन्धान भइरहेको र कहाँ गल्ती भएको हो भन्ने विषयमा छानबिन भइरहेको बताए।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया