नगरपालिका विरूद्ध समाचार लेखेको भन्दै पत्रकारलाई कालोमोसो दल्ने मेयर ढकालकाे धम्कि
ई–साझाकुरा, साउन २२
माडी नगरपालिकाका मेयर ठाकुर ढकालले पत्रकारलाई कालोमोसो लगाउने धम्कि दिएका छन् । मेयर ढकालले नगरपालिका विरुद्धको समाचार लेखेको भन्दै पत्रकारलाई कालोमोसो लगाउने अभिव्यक्ति दिएका हुन । मेयर ढकालले सार्वजनिक रुपमै जनता भेलागरि पत्रकारलाई कालोमोसो लगाउने बेला आएकोले तयार रहनु भन्दै चेतावनी नै दिएका छन् ।
केहि दिन पहिले न्युज २४ टेलिभिजन लगायत विभिन्न सञ्चार माध्यमले नगरपालिकाको संलग्नतामा तीन सय भन्दा बढी रुख कटान शिर्षकमा समाचार प्रकाशन एवम प्रसारण गरेका थिए । माडी क्षेत्रमा मेयर ढकालकै नेतृत्वमा काटिएका सालका रुखका विषयमा आएको समाचारप्रति खण्डन गर्दै समाचार लेख्ने पत्रकारलाई ‘पीत पत्रकारिता’को संज्ञा दिएर जनतालाई कालोमोसो दल्न उत्प्रेरित गरिएको अभिव्यक्तिको यतिबेला सर्वत्र अलोचना भएको छ ।
पछिल्लो समय माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबीच द्वन्द्व चर्कँदै गएको छ । सुकुम्बासी बस्ती स्थानान्तरणको नाममा नगरपालिकाले राईटोलमा सालको रुख काटेर कुसुमखोलाको बासिन्दालाई राखेको छ । ठूलो मात्रामा रुख फडानी गरेर बस्ती बसालेपछि निकुञ्जले घर निर्माणको काम रोकेको छ ।
यही विषयलाई लिएर विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएपछि माडीको मेयर आक्रोशित छन् । चेपाङ तथा सुकुम्बासी समुदायको आन्दोलनको कार्यक्रममा बोल्दै मेयर ढकाल पत्रकारमाथि खनिएका थिए ।
मेयर ढकालले पत्रकारलाई कालोमोसो दल्ने मात्र नभई सरकारी कर्मचारी प्रति पनि सम्मानको भावना नभएको बताएका छन् । उनले कर्मचारीलाई आफूले ज्यु हजुर भन्ने चलन नभएको भन्दै अपशब्द नै प्रयोग गरेर एक टेलिभिजन कार्यक्रममा कर्मचारीलाई कुकुरको रुपमा लिने गरेको अभिव्यक्तिनै दिएका छन् ।
मेयर ढकालको अभिव्यक्तिप्रति प्रेस युनियनको कडा आपत्ति
नेपाल प्रेस युनियन चितवनले माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले एक विज्ञप्ती जारी गर्दै समाचारका विषयलाई लिएर पत्रकारहरुलाई कालोमोसो दल्ने दिएको अभिव्यक्तिको कडा आपत्ति जनाउँदै तत्काल ती शब्द फिर्ता लिन आग्रह गरेको छ । साथै यूनियनले गैरजिम्मेवार अभिव्यक्ति नदिन मेयर ढकाललाई चेतावनी समेत दिएको छ ।
समाचार लेख्ने पत्रकारलाई ‘पीत पत्रकारिता’को संज्ञा दिएर जनतालाई कालोमोसो दल्न उत्प्रेरित गरिएको अभिव्यक्ति पत्रकार माथिको प्रहार भन्नेमा यूनियनको ठहर छ । जनप्रतिनिधिको धम्कीबाट विचलित नभइ सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न पत्रकारलाई यूनियनले आग्रह गरेको छ ।
स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुर्व्यवहार हुनु निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको यूनियनको ठहर छ । साथै यूनियनले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहा¥याउन सम्बन्धित निकायसंग माग गरेको छ ।
नगरपालिका नै विवादमा
सुकुम्बासीलाई स्थानान्तरणको नाममा रुख कटान गरेर बस्ती बसालेपछि चितवनको माडी नगरपालिका यति बेला विवादमा छ । चितवन राष्ट्रिय निकुञ्ज भित्रको कुसुमखोलामा सालका रुख काटेर बस्ती स्थानान्तरण गरेपछि विवाद चुलिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज भित्रको माडी नगरपालिका-९, कुसुमखोलामा २०४८ सालदेखि चेपाङ समुदायको बसोबास रहँदै आएको छ । एक सय ६० घरधुरी रहेको कुसुम खोलामा अहिले १० घरधुरी मात्रै छन् ।
माडी नगरपालिकाको सहयोगमा वस्ती निर्माण गरेर स्थानान्तरण गरियो उत्त बस्ती निर्माणको बेला नगरपालिकाले बन मासेर बस्ती बसाएको चितवन राष्ट्रिय निकुञ्जको ठहर छ । मध्यवर्ती बन क्षेत्रमा सालका रुख कटान गरेर बस्ती बनाएपछि नगरपालिका विवादमा तानिएको हो ।
नयाँ बस्ती बनाइएको कृष्णनगरस्थित राईडाँडामा एक सय ६६ र स्कुलडाँडामा एक सय ६४ रुख कटानी भएको चितवन राष्ट्रिय निकुञ्जको दावी छ । तीमध्ये अधिकांश रुख सालका छन् । काटिएका रुख कहाँ गए निकुञ्जलाई पनि जानकारी छैन । गत चैतदेखि बस्ती निर्माण सुरु गरेको नगरपालिकाले लकडाउनका कारण पुरै घर बनाउन सकेन । यही बीचमा रुख फडानी गरेर बस्ती बसालेको भन्दै उजुरी परेपछि निकुञ्जले घर निर्माणको प्रक्रिया रोकेको छ ।
मध्यवर्तीको जग्गामा सुरक्षित बसोबासको नाममा प्रक्रिया नपु¥याई रुख काटेर बस्ती बसालेपछि घर निर्माण रोकेको निकुञ्जको भनाइ छ । माडी नगरपालिकाले एकवर्ष अघिदेखि नै कुसुमखोलामा बसोबास गरेका चेपाङ्गलाई राईडाँडा, स्कुलडाँडा, पुरुइ खोला, खरिकुना ल्याएर राखिएको थियो ।
वन र निकुञ्जको जग्गा सुकुम्बासी बस्तीलाई दिन नमिल्ने कानुनी व्यवस्था हुँदाहुँदै नगरपालिका बिना समन्वय अघि बढेपछि स्थानान्तरण विथोलिएको छ । अर्कातिर, चेपाङ्ग समुदाय घर घाटका भने झै भएका छन् ।
प्रतिक्रिया