रसुवा बाढीपीडितलाई कपिलवस्तुका थारु समुदायको करिब १० लाख सहयोग


कपिलवस्तु । रसुवामा आएको बाढीबाट विस्थापित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिकाका थारु समुदायले आर्थिक सहयोग गरेका छन्।
२०८३ भदौ १० गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा आएको बाढीबाट विस्थापित भएका २०२ परिवारलाई लक्षित गरी थारु समुदायबाट संकलित ९ लाख ९१ हजार ५०० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो।
थारु कल्याणकारिणी नगर कार्य समिति र नेपाल थारु बढघर संघ बाणगंगा नगर कार्य समिति कपिलवस्तुको पहलमा संकलन गरिएको उक्त रकम काठमाडौंस्थित गोसोक गुम्बामा पुगेर बाढीपीडित परिवारलाई प्रत्यक्ष भेट गरी वितरण गरिएको हो।
सहयोग रकम थारु कल्याणकारिणी सभा बाणगंगा नगर सभापति रामशंकर थारु र नेपाल थारु बढघर संघ बाणगंगा नगर सभापति राजेन्द्रप्रसाद थारुले पीडित परिवारका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका थिए।
प्राकृतिक विपत्तिका कारण घरबार तथा आफ्नो थातथलोबाट विस्थापित हुन पुगेका परिवारलाई मानवीय सहयोग गर्ने उद्देश्यले बाणगंगा नगरपालिकाका थारु समुदायबाट रकम संकलन गरिएको आयोजकले जनाएका छन्।
विपद्को पीडामा परेका नागरिकलाई आफ्नै समुदायको पहलमा आर्थिक सहयोग पुर्‍याउनुले मानवीय संवेदना, सामाजिक एकता र आपसी सहयोगको भावना प्रस्तुत गरेको छ। भौगोलिक दूरी टाढा भए पनि दुःख र विपत्तिमा एकअर्काको साथमा उभिन सकिन्छ भन्ने उदाहरणसमेत यस सहयोगले दिएको छ।

प्रतिक्रिया

खबर सबै