

डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान



भाइटीकाको भोलिपल्ट प्यूठान नगरपालिका–७, पुण्यखोलामा ऐतिहासिक डल्ले सराय नाचको रौनक छायो । ढोल र मादलको तालसँगै तरबार बोकेका गाउँलेहरू ‘वाख्यै… वाख्यै…’ भन्दै परम्परागत नाचमा झुमे । पुस्तौँदेखि चल्दै आएको यो सांस्कृतिक परम्परा यस वर्ष पनि उल्लासपूर्वक सम्पन्न भएको छ ।
डल्ले सराय नाच मनोरञ्जनको माध्यम मात्र नभई प्यूठानको मौलिक सांस्कृतिक पहिचान बोकेको परम्परा हो । स्थानीय लोककथा अनुसार, कुनै समय गाउँमा मानवरूपी राक्षसको आतंक थियो । उसले बर्सेनि एक जना गाउँलेको मासु खाने गर्थ्यो । गाउँलाई राक्षसको आतंकबाट मुक्त गराउन एक साहसी युवकले आफ्ना बाबुको सट्टा आफू राक्षसको वासस्थानमा पुगेर उसको वध गरेका थिए । त्यसपछि चार गाउँका बासिन्दाले तरबार बोकेर ‘वाख्यै… वाख्यै…’ भन्दै खुसीयाली मनाएको घटनासँग यो नाच जोडिएको जनविश्वास छ ।
नाचमा गाउँका दिदीबहिनीले लगाइदिएको फूलको माला पहिरिएर युवा तथा अधबैंसे पुरुषहरू सहभागी हुन्छन् । सामूहिक सहभागिता, परम्परागत भेषभूषा र ढोलमादलको तालमा प्रस्तुत गरिने नाच यसको विशेषता हो ।
ऐतिहासिक अभिलेख उपलब्ध नभए पनि स्थानीय लोकश्रुतिका अनुसार डल्ले सराय नाच तेह्रौँ शताब्दीको अन्त्यतिर देखि प्रचलनमा रहेको मानिन्छ । विसं २०७० देखि यसलाई प्रतियोगितात्मक रूपमा सञ्चालन गर्न थालिएको हो ।
यस वर्षको प्रतियोगितामा सात समूह सहभागी भएका थिए। प्रतियोगितामा खैरा समूह प्रथम, सापडाँडा समूह द्वितीय र पाण्डेडाँडा सराय समूह तृतीय भएका छन् । आयोजक प्यूठान नगरपालिकाले प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपियाँ पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा सहभागी अन्य समूहलाई पनि प्रोत्साहनस्वरूप २० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाले डल्ले सराय नाचको संरक्षण र प्रवद्र्धनका लागि हरेक वर्ष पाँच लाख रुपियाँ बजेट विनियोजन गर्दै आएको छ । डल्ले सरायको बारेमा स्थानीय पाठ्यक्रममा समेत समावेश गरिएको र यसलाई सांस्कृतिक पर्यटनको प्रमुख आकर्षणका रूपमा विकास गर्ने नगरपालिकाको नीति रहेको उहाँले सुनाउनुभयो ।
भाइटीकाको भोलिपल्ट दिनभर पुण्यखोलामा गुञ्जिएको ‘वाख्यै…. वाख्यै…’ साँझसँगै शान्त भयो । तर, किंवदन्ती, सामूहिक उत्सव र पुस्तान्तरणसँग जोडिएको डल्ले सराय नाचले प्यूठानको मौलिक संस्कृति र पहिचानलाई जीवन्त राख्दै आएको छ ।


खबर सबै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै







प्रतिक्रिया