अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर

नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलो पटक देखिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा यो चरा पहिलो पटक अभिलेख भएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केसर खड्काका अनुसार नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने काँडे भ्याकुर ठाडादह क्षेत्रमा देखिनु जिल्लाको जैविक विविधताका दृष्टिले महत्वपूर्ण उपलब्धि हो । यसअघि अर्घाखाँचीको दक्षिणी क्षेत्रमा यो चरा देखिएको अभिलेख नरहेको उहाँले बताउनुभयो ।

नेपालको मौलिक जैविक सम्पदाका रूपमा रहेको यो चरा नेपालका लागि विशेष महत्व राख्ने रैथाने प्रजातिमध्ये एक हो । कुनै क्षेत्रमा यसको उपस्थिति देखिनुले त्यहाँको प्राकृतिक वासस्थान र जैविक विविधताको अवस्था अध्ययन तथा संरक्षण गर्नुपर्ने आवश्यकतालाई समेत उजागर गर्छ ।

प्राकृतिक सुन्दरता र जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिने ठाडादह क्षेत्रमा काँडे भ्याकुर देखिनुले यहाँको वन, झाडी तथा प्राकृतिक वासस्थानको संरक्षणमा थप ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ । काँडे भ्याकुर घना वन तथा झाडीदार क्षेत्रमा बसोबास गर्ने लजालु स्वभावको चरा हो । नेपालमा मात्र पाइने यस रैथाने चराको संरक्षणका लागि प्राकृतिक वासस्थान जोगाउनु आवश्यक रहेको पन्छीसम्बन्धी अध्ययनले देखाएका छन् । 

प्रतिक्रिया

खबर सबै