

भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?



मंगलबार भारत र जापानबीचको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेलको निर्णायक क्षणमा अम्पायरले दिएको वाइडको निर्णय उल्टिएपछि भारतको जितमाथि प्रश्न उठेको छ ।
वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा जापानलाई भारतविरुद्ध जितका लागि अन्तिम चार बलमा ६ रन आवश्यक थियो । अक्षर पटेलले बलिङ गरेको ओभरमा जापानका एलेक्जेन्डर शिराइ–पाटमोरले रिभर्स हिट खेल्ने प्रयास गरे ।
लेग साइडतर्फ टर्न भएर बाहिरिएको बलमा ब्याट लागेन र स्ट्राइकरतर्फका अम्पायर क्रिस थर्गेटले वाइड दिए । त्यसपछि अक्षर पटेल र विकेटकिपर सञ्जु सामसनले निर्णयप्रति असन्तुष्टि जनाए । भारतीय कप्तान श्रेयस अय्यर पनि लेग अम्पायर क्रिस ब्राउनसँग कुराकानी गर्न पुगे ।
भारतीय खेलाडीले निर्णयप्रति असन्तुष्टि जनाएपछि दुई अम्पायरबीच छलफल भएको थियो र त्यसपछि वाइडको निर्णय सच्याइएको थियो ।
दुई अम्पायरबीच छलफल भएपछि थर्गेटले वाइडको निर्णय उल्टाए । त्यससँगै जापानलाई चार बलमा ६ रनबाट तीन बलमा ७ रन आवश्यक भयो । बाँकी तीन बलमा जापानले आवश्यक रन बनाउन नसकेपछि भारत २ रनले विजयी भयो ।
वाइडको निर्णय उल्टाउन मिल्छ ?
क्रिकेटको नियम २.१२ अनुसार अम्पायरले अर्को बल खेलमा आउनुअघि आफ्नो निर्णय सच्याउन सक्छन् । त्यसैले वाइडको निर्णय उल्टाउनु आफैंमा नियमविपरीत भने होइन ।
तर यस घटनामा मुख्य प्रश्न रिभर्स हिट प्रयास गरिएको बललाई वाइड मान्ने कि नमान्ने भन्ने हो । आईसीसीको वाइडसम्बन्धी दिशानिर्देशनअनुसार ब्याटरले रिभर्स हिट वा स्विच हिटको प्रयास गरेमा विकेटको दुवै पक्षलाई अफसाइड मानिन्छ ।
यस्तो अवस्थामा बल बाहिरी स्टम्पबाट ७५ सेन्टिमिटरभन्दा बाहिर गएमा मात्र वाइड मानिन्छ ।
यस आधारमा शिराइ–पाटमोरले आफ्नो स्टान्स परिवर्तन गरेको समयले निर्णयमा फरक नपार्ने नियम रहेको छ । रिभर्स हिट र स्विच हिट दुवै अवस्थामा यही दिशानिर्देशन लागू हुन्छ ।
खेलमा टेलिभिजन अम्पायर र डीआरएसको व्यवस्था थिएन । त्यसैले मैदानमै रहेका अम्पायरबीचको छलफलपछि निर्णय सच्याइएको थियो ।
भारतले पहिले ब्याटिङ गर्दै पाँच ओभरमा ४ विकेट गुमाएर ३२ रन बनाएको थियो । जवाफमा जापानले ५ ओभरमा ३० रन बनाएपछि भारत २ रनले विजयी भयो ।
भारतले यो जितसँगै टी–२० क्रिकेटमा सबैभन्दा कम योगफल बचाएर जित हासिल गरेको कीर्तिमानसमेत बनाएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया