थारू बस्तीमा अट्वारीको रौनक

थारू बस्तीमा अट्वारी पर्वको रौनक छाएको छ । गाउँदेखि रोजगारी, व्यवसाय र अध्ययनका लागि सहर तथा जिल्ला बाहिर रहेका थारू समुदायका पुरुषहरू अट्वारी मनाउन घर फर्किएपछि बस्तीमा चहलपहल बढेको छ । अन्य समय सुनसान देखिने गाउँका घरआँगन अहिले अट्वारीका लागि आवश्यक सामग्री जुटाउने र परिकार पकाउने तयारीले व्यस्त छन् ।

थारू समुदायले जन्माष्टमी (अस्टिम्की पर्व)पछि आउने दोस्रो आइतबार अट्वारी पर्व मनाउने परम्परा छ । सोहीअनुसार यस वर्ष भदौ २८ गते अट्वारी पर्व मनाइँदै छ । पुरुषहरूले विशेष रूपमा मनाउने यो पर्व वर्षमा एकपटक आउने भएकाले थारू समुदायमा यसको विशेष महत्त्व रहेको छ ।

अट्वारीका दिन दिनभरि व्रत बस्ने र साँझ भीमको नाममा पूजापाठ गर्ने प्रचलन छ । थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका–१४, भोजपुर निवासी चूर्णबहादुर चौधरीका अनुसार अट्वारीको तयारी अघिल्लो दिनदेखि नै सुरु हुन्छ ।

“अट्वारीको अघिल्लो रात माछा, गंगटा, घोङ्घी लगायतका परिकार पकाएर भिन्सर्‍या (दर) खाने चलन छ,” उहाँले भन्नुभयो, “भाले बास्नुअघि नै भिन्सर्‍या खाइसक्नुपर्छ । भाले बासेपछि भिन्सर्‍या जुठो हुन्छ भन्ने मान्यता छ ।”

भिन्सर्‍या खाएपछि अट्वारीको दिन दिनभरि व्रत बस्ने गरिन्छ । साँझ नुहाइधुवाइ गरेर गन्यारी काठबाट आगो निकालिन्छ । त्यसपछि गहुँ, चामल, अनदी चामल लगायतका पिठोबाट पाँचदेखि सात प्रकारका रोटी पकाइन्छ । रोटी पकाइसकेपछि व्रत बसेका परिवारका सदस्य घरको बह्री कोन्टी (बैठक कोठा)मा भेला भएर भीमको नाममा पूजापाठ गर्छन् ।

पूजाअघि आफ्नो भागमा परेको रोटी, फलफूल र दहीमध्ये केही अंश दिदीबहिनीका नाममा छुट्याएर खाने चलन छ । अट्वारीको दिन रोटी र फलफूलबाहेक माछामासु नखाने परम्परा रहेको चौधरीले बताउनुभयो ।

अट्वारीको दोस्रो दिनलाई फह्रार भनिन्छ । फह्रारका दिन बिहानै नुहाइधुवाइ गरी भात र तरकारी पकाउने गरिन्छ । तीनदेखि सात प्रकारका तरकारी पकाइने भए पनि त्यसमा मास र पवै साग अनिवार्य मानिन्छ । सबै परिकार तयार भएपछि पुनः बह्री कोन्टीमा भीमको नाममा पूजापाठ गरी आफ्नो भागको भात–तरकारीबाट दिदीबहिनीका नाममा छुट्याइन्छ ।

दिदीबहिनीका नाममा छुट्याइएको खानेकुरालाई थारू भाषामा ‘अग्रासन’ भनिन्छ । यही अग्रासन विवाहित चेलीबेटीलाई माइतीबाट लगेर दिने चलन रहँदै आएको छ ।

मटाँवा बरघर महासंघ दाङका अध्यक्ष तथा घोराही उपमहानगरपालिका–१०, जलौरा निवासी चन्द्रप्रसाद चौधरीका अनुसार अट्वारीमा भीमको पूजा गरेपछि उहाँजस्तै बलियो भइने जनविश्वास छ । यही विश्वासका कारण अहिले पनि भीमको नाममा आगोमा अट्वारीका परिकार चढाउने र जल तथा मोहीले पूजापाठ गर्ने परम्परा कायम रहेको उहाँले बताउनुभयो ।

अट्वारी थारू समुदायका लागि धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई माइती–चेलीबीचको प्रगाढ सम्बन्ध कायम राख्ने पर्व पनि हो । वर्षभरि भेटघाट हुन नसकेका दिदीबहिनीलाई माइतीबाट अग्रासन पुर्‍याउने चलनले पर्वको भावनात्मक पक्षलाई अझ बलियो बनाउने गरेको उहाँले बताउनुभयो ।

“अट्वारीमा चेलीबेटीहरू माइतीको अग्रासनको पर्खाइमा बसेका हुन्छन्,” चन्द्रप्रसादले भन्नुभयो, “दाजुभाइ अग्रासन लिएर घरमा पुग्दा चेलीबेटीको मनमा छुट्टै खुसी छाउँछ । वर्षदिनसम्म भेट्न नपाएका दिदीबहिनीलाई भेट्न पाउँदा दाजुभाइ पनि उत्तिकै खुसी हुन्छन् ।”

प्रतिक्रिया

खबर सबै