

सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी


रुपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत एकला पहाडमा प्रस्तावित फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउने प्रक्रिया अघि बढेको छ । रुख कटानका लागि सैनामैना नगरपालिका र वन तथा भूसंरक्षण विभागबिच शुक्रबार सम्झौता भएको हो ।
सैनामैना नगरपालिकाका तर्फबाट नगरप्रमुख फणेन्द्रप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले विभागसँग भएको सम्झौतामा हस्ताक्षर गर्नुभयो । नगरप्रमुख शर्माले सम्झौतासँगै लामो समयदेखि प्रक्रियामा रहेको फोहोर व्यवस्थापन केन्द्र निर्माणको थप बाटो खुलेको बताउनुभयो ।
सङ्घीय सरकारले सैनामैना–१० मा रहेको राष्ट्रिय वनको ३.५ हेक्टर क्षेत्रफल फोहोर व्यवस्थापन केन्द्रका लागि प्रयोग गर्न स्वीकृति दिएको थियो । जग्गा प्रयोगको स्वीकृति पाएपछि निर्माणस्थलमा रहेका रुख हटाउने प्रव्रिmया सुरु गरिएको हो । नगरप्रमुख शर्माका अनुसार रुख हटाएपछि केन्द्र निर्माणका लागि आवश्यक पूर्वाधारको काम अघि बढाइने छ । उहाँले भन्नुभयो, “रुख हटाउने प्रक्रिया पूरा भएपछि निर्माणस्थल तयार गरी आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाउँछौँ ।”
सैनामैनाले हाल वडा नं. ९ स्थित पिपलडाँडा क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको छ । लामो समयदेखि प्रयोग हुँदै आएको उक्त क्षेत्रको विकल्प खोज्ने व्रmममा एकला पहाडमा आधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको हो ।
सालझन्डी कोठी जङ्गलबाट करिब छ किलोमिटर उत्तरमा पर्ने एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना करिब आठ वर्षअघि अघि बढाइएको थियो । जग्गा प्राप्ति प्रक्रियामा भएको ढिलाइका कारण निर्माणको काम अघि बढ्न सकेको थिएन । दुई वर्षअघि नगरपालिकाले उक्त क्षेत्रको जग्गा भोगाधिकार प्राप्त गरेको थियो ।
अब रुख हटाउने काम सम्पन्न भएपछि सङ्घीय तथा प्रदेश सरकार र विज्ञसँगको परामर्शमा केन्द्रको विस्तृत संरचना तथा फोहोर प्रशोधनको रूपरेखा तयार गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार केन्द्र निर्माणमा एसियाली विकास बैङ्कले समेत चासो देखाएको छ । केन्द्रलाई सैनामैनाको मात्रै नभई आसपासका स्थानीय तहको समेत फोहोर व्यवस्थापन गर्ने गरी विकास गर्ने योजना छ । यसका लागि सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र कञ्चन गाउँपालिकाबिच यसअघि नै एकीकृत फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता भइसकेको छ । आवश्यकता अनुसार गैडहवा र शुद्धोधन गाउँपालिकालाई समेत समेट्ने तयारी भइरहेको छ ।
प्रस्तावित केन्द्रमा फोहोरबाट अधिकतम उपयोग हुने गरी विभिन्न संरचना निर्माण गर्ने योजना छ । फोहोरबाट बायोग्यास तथा कम्पोस्ट मल उत्पादन गर्ने प्लान्ट निर्माण गरिने छ भने प्लास्टिक, धातुलगायत पुनःप्रयोग गर्न सकिने सामग्री छुट्याएर पुनःप्रयोग गर्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले केन्द्र निर्माणका लागि करिब ६० करोड रुपियाँ लागत अनुमान गरेको छ । निर्माणस्थलमा रहेका ८८ वटा रुख हटाउनुपर्ने प्रारम्भिक अनुमान गरिएको छ । सैनामैना नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख सुरज न्यौपानेले चालु वर्षमै रुख कटानको काम सम्पन्न गरी आगामी वर्षदेखि फोहोर व्यवस्थापन केन्द्रको निर्माण अघि बढाउने तयारी रहेको बताउनुभयो ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया