आयात बढे पनि भान्छामा ग्यास अभाव: समस्या आपूर्तिमा कि वितरणमा?

पछिल्लो दुई सातामा करिब ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको छ। एलपी ग्यास उद्योग सङ्घका अनुसार अहिले दैनिक औसत १०५ देखि १२५ वटासम्म बुलेट ग्यास आयात भइरहेको छ, जुन सामान्य अवस्थाको तुलनामा बढी हो। सामान्यतया नेपालका लागि दैनिक ८० देखि ९० बुलेट ग्यास पर्याप्त मानिन्छ।

सरकारी तथा व्यावसायिक तथ्याङ्कले बजारमा ग्यासको आपूर्ति सहज देखाए पनि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा उपभोक्ता भने अझै सिलिन्डर पाउन घण्टौँ लाइन बस्न बाध्य छन्। स्थानीय डिलर र पसलहरूमा ग्यास नपाएपछि काठमाडौँको टेकुस्थित नेपाल आयल निगमको पुरानो कार्यालय परिसरमा सिलिन्डर साट्ने उपभोक्ताको दिनहुँजसो लामो घुइँचो लाग्ने गरेको छ।

उच्च आयातका बाबजुद बजारमा देखिएको यो किल्लतले ग्यास आपूर्तिको भन्दा पनि वितरण प्रणालीको चुस्ततामाथि गम्भीर प्रश्न उब्जाएको छ।

सिलिन्डर व्यवस्थापन र मागको चाप
ग्यास उद्योगीहरूका अनुसार अहिलेको मुख्य समस्या आयातमा नभई ‘खाली सिलिन्डर’ व्यवस्थापनमा देखिएको हो। १४.२ केजीको पूर्ण सिलिन्डर पुनः सहज हुन थालेपछि लामो समयदेखि घरमा थन्किएर रहेका खाली सिलिन्डर उपभोक्ताले एकैपटक बजारमा ल्याउँदा एकाएक चाप बढेको उद्योग सङ्घका अध्यक्ष दिवान चन्द बताउँछन्। उपभोक्ताबाट खाली सिलिन्डर समयमै चक्रिय प्रणालीमा नफर्किएसम्म आपूर्ति पूर्ण सहज हुन कठिन हुने उनको भनाइ छ।

यता नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर पनि बजारको अवस्था ग्यास अभाव नभएर अचानक बढेको मागको व्यवस्थापन मात्र भएको दाबी गर्छन्। नेपालमा मासिक औसत ४५ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको र सोही अनुपातमा आयात भइरहेको निगमको भनाइ छ। असारमा करिब ४४ हजार र साउन १५ गतेसम्म मात्रै २६ हजार मेट्रिक टन ग्यास भित्रिसकेको निगमले जनाएको छ।

टेकुमा प्रत्यक्ष बिक्री र प्राविधिक समस्या
डिलरहरूबाट सिलिन्डर पाउन छाडेपछि नेपाल ग्यास, एभरेस्ट, सुगम, एचपी र श्रीराम लगायतका कम्पनीहरूले निगमको टेकुस्थित साविक कार्यालय परिसरबाट प्रत्यक्ष बिक्री सुरु गरेका छन्। निगमले आफूले सिधै बिक्री नगरेको तर उपभोक्ताको सहजताका लागि कम्पनीहरूलाई ठाउँ मात्र उपलब्ध गराएको स्पष्ट पारेको छ।

यसैबिच, केही उपभोक्ताले ७.१ केजीको आधा सिलिन्डर प्रयोग गर्दा आवश्यक ‘प्रेसर’ नपुगेर भान्छामा समस्या आएको गुनासो समेत गरेका छन्।

तथ्याङ्कले आपूर्ति पर्याप्त देखाए पनि सर्वसाधारणले भोगिरहेको सास्तीले नेपालको एलपी ग्यास बजारमा आपूर्ति मात्र नभई वितरण प्रणाली, खाली सिलिन्डरको चक्रिय व्यवस्थापन र प्रभावकारी बजार अनुगमनको टड्कारो आवश्यकतालाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया

खबर सबै