

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन


विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पाटेबाघसहित अन्य वन्यजन्तु अवलोकनका लागि गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४६६ जना पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६२० जना पर्यटकले मात्र अवलोकन गरेकोमा गत आवमा सो सङ्ख्या डेढ गुणाभन्दा बढीले वृद्धि भएको कँडेलले जानकारी दिनुभयो। त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा ४४४ जना पर्यटक निकुञ्ज पुगेका थिए। पर्यटकको आगमन यसरी बढ्नु निकै सकारात्मक सङ्केत भएको र सरोकारवाला निकायले ध्यान दिएमा यो सङ्ख्या अझै बढ्ने उहाँको भनाइ छ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोजलगायतका क्रियाकलापमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरे पनि वन्यजन्तुको वासस्थान रहेको मुख्य क्षेत्रमै पुगेर अवलोकन गर्नेको सङ्ख्या एक हजार ४६६ पुगेको हो। ती पर्यटकहरू मध्यवर्ती क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) तथा नेपालगन्ज र कोहलपुरका होटलमार्फत सफारीका लागि पुगेका हुन्।
पर्यटकका लागि होमस्टे तथा होटल व्यवसायीले सफारी गाडीको सङ्ख्या बढाउन सके निकुञ्ज घुम्नेको सङ्ख्या अझै वृद्धि हुने अधिकृत कँडेल बताउनुहुन्छ।
बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सुरेश चौधरीले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन प्रचारप्रसार र पर्यटनसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो। यस्तै कोहलपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख सङ्गीता सुवेदीले निकुञ्जको ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभयो। गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले पनि निकुञ्जको थप प्रचारप्रसार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।
बाँके निकुञ्जमा अहिले २५ वटा वयस्क पाटेबाघसहित चितुवा र अन्य वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ। यहाँ ३४ प्रजातिका स्तनधारी, २७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, नौ प्रजातिका उभयचर र ५५ प्रजातिका माछा गरी कुल ४२२ प्रजातिका प्राणी पाइन्छन्।
वि.सं. २०६७ असार २८ गते स्थापित यो निकुञ्ज नेपालगन्ज विमानस्थलबाट १६ किलोमिटरको दुरीमा रहेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेकाले स्थल र हवाई दुवै मार्गबाट यहाँ सहजै पुग्न सकिन्छ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया