भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि

मुलुकको दोस्रो ठूलो भन्सार नाका मानिने रूपन्देहीको बेलहियास्थित भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन गरेको छ।

भन्सार विभागले उक्त आर्थिक वर्षका लागि कार्यालयलाई १ खर्ब १३ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। तर कार्यालयले १ खर्ब ५ अर्ब २ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भएको हो।

यद्यपि निर्धारित लक्ष्य पूरा हुन नसके पनि अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व असुलीमा उल्लेखनीय सुधार भएको छ। कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत वर्ष १०.३३ प्रतिशतले राजस्व वृद्धि भएको हो।

आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ९ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ९५ अर्ब १९ करोड रुपैयाँ मात्र संकलन भएको थियो।

भन्सार कार्यालयको तथ्यांकअनुसार पछिल्ला आठ आर्थिक वर्ष (२०७५/७६ देखि २०८२/८३) मध्ये २०७७/७८ बाहेक कुनै पनि वर्षमा राजस्व लक्ष्य पूरा हुन सकेको छैन।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले गत आर्थिक वर्षमा साउन र चैत महिनाबाहेक अन्य सबै महिनामा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको जानकारी दिए।

राजस्व संकलनको मासिक विवरणअनुसार साउनमा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार रुपैयाँ तथा चैतमा १० अर्ब ६७ करोड ९३ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो, जुन लक्ष्यअनुसारका महिना बने।

त्यसैगरी भदौमा ९ अर्ब ४३ करोड ९२ लाख २४ हजार, असोजमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार, कार्तिकमा ७ अर्ब ८९ करोड ९६ लाख ३९ हजार, मंसिरमा ८ अर्ब १ करोड ४५ लाख ५९ हजार र पुसमा ७ अर्ब २० करोड ५९ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

यस्तै माघमा ८ अर्ब ६७ करोड १३ लाख ८८ हजार, फागुनमा ८ अर्ब २६ करोड ७५ लाख ८७ हजार, वैशाखमा ८ अर्ब ८६ करोड ८४ लाख ७२ हजार, जेठमा ८ अर्ब ५३ करोड ४० लाख ७५ हजार तथा असारमा ९ अर्ब १२ करोड ७१ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ।

लक्ष्यभन्दा कम राजस्व संकलन भए पनि आयात–निर्यात गतिविधिमा आएको सुधार र राजस्व असुलीको वृद्धिले भैरहवा भन्सारको कार्यसम्पादनमा सकारात्मक संकेत देखिएको कार्यालयको भनाइ छ।

प्रतिक्रिया

खबर सबै