
‘भाइकिङ ब्वाय’ हालान्डको आकाशिएको छवि, टिकटकमा सबैभन्दा बढी खोजिए

मेस्सी वा एम्बाप्पेको चर्चा हुनु विश्व फुटबलमा कुनै नौलो विषय होइन। यसपालिको फिफा विश्वकप २०२६ मा विशुद्ध रुपमा कोही खेलाडी सबै भन्दा ठूलो कथाको पात्रको रुपमा चर्चित भए भने त्यो नाम हो नर्वेका इर्लिङ हालान्ड।
हालान्डलाई लिएर देखिएको उत्साह र समर्थकहरुको पागलपन चरम सीमा मै पुग्यो।
म्यानचेस्टर सिटीबाट खेल्ने नर्वेका यी अग्ला कदका २५ वर्षीय कपाल पालेका धेरै स्वरुपमा चर्चित भए ।
विश्वकपअघि नै र विश्वकप दौरान हालान्डले आफुलाई विश्वका सबैभन्दा खतरनाक स्ट्राइकरमध्ये एकका रूपमा स्थापित गरे ।
मैदानभित्र स्टार छवी जो बेफिक्री भएर गोल हान्छन्, जो विश्वकपलाई रमाइलो उत्सबको रुपमा मनाउछन् र जसको सबैभन्दा बढी मिम पनि बनिरहेको छ ।
इङ्ग्ल्यान्डसँग पराजित भएसँगै विश्वकपको सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुट जित्ने दौडमा हालान्ड बाहिइरिसकेका छन्। तर उनले एउटा पुरस्कार भने जितिसकेका छन्- विश्वकपकै सबैभन्दा भाइरल खेलाडी बन्ने ।
सामाजिक सञ्जालमा करोडौं फलोअर भएका हालान्डको नाममा बनेको भाइरल गीत विश्वकपभर मीम, हाइलाइट भिडियो र उत्सवका दृश्यहरूमा छाएको छ ।
एआईको प्रयोग गरेर बनाइएका भिडियोहरूमा हालान्डलाई इङ्ल्यान्डविरुद्ध भाइकिङ सेनाको नेतृत्व गरिरहेको देखाइन्छ । कतिपयले उनलाई कोरियाली पप स्टार के–पप स्टारका रूपमा कल्पना गरेका छन् ।
प्रतियोगिता सुरु हुनुअघि नै हालान्डका नर्वेभरि र म्यानचेस्टरमा लाखौं समर्थक थिए, विशेषगरी म्यानचेस्टरको ‘ब्लु हाफ’ अर्थात् म्यानचेस्टर सिटीका समर्थकमाझ ।
यद्यपि उनी म्यानचेस्टर सिटीका खेलाडी हुन्, उनी लिड्स युनाइटेडका समर्थकमाझ पनि उत्तिकै लोकप्रिय छन् । उनका पिता अल्फ–इङ्गे हालान्ड लिड्सका लागि खेलिरहेका बेला इर्लिङको जन्म लिड्समै भएको थियो । उनी हुर्किँदा पनि लिड्स युनाइटेडकै समर्थक थिए।

तर नर्वे विश्वकपको क्वार्टरफाइनलसम्म पुगेपछि अब संसारभर हालान्डको ‘क्रेज’ फैलिएको छ । यसको कारण केवल उनको गोल गर्ने क्षमता मात्र होइन, मैदानबाहिर उनले सिर्जना गर्ने रमाइला कन्टेन्ट पनि हो ।
जुलाईको पहिलो सातामा टिकटकमा ‘हालान्ड’ शब्द खोज्नेको संख्या बेलायतका सबै खोजमध्ये शीर्ष १० मा पुग्यो। यो अघिल्लो साताको तुलनामा ३०० प्रतिशतभन्दा बढी वृद्धि थियो, जसले उनलाई त्यस अवधिमा विश्वकपकै सबैभन्दा धेरै खोजिएका खेलाडी बनायो।
‘हालान्ड वेस्ट मोमेन्ट्स’ खोज्ने संख्या त झन् १ हजार ३०० प्रतिशतले बढेको देखियो । प्रतियोगिता सुरु भएयता ह्यासट्याग हालान्ड र ह्यासट्याग इर्लिङ हालान्ड प्रयोग भएका पोस्टहरू १४ हजारभन्दा बढी पुगे, जुन अघिल्लो महिनाको तुलनामा झन्डै ५०० प्रतिशत वृद्धि थियो।
उनका ४७ लाख स्न्यापच्याट सदस्यले पनि उनका दैनिक गतिविधिहरू उत्सुकतापूर्वक पछ्याइरहेका छन् । उनको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ र उनीबारे कुल १४ लाखभन्दा बढी पोस्ट भइसकेका छन् ।
गत क्रिसमसमा उनले आफ्नो युट्युब च्यानलमा सान्ता क्लजको भेषमा म्यानचेस्टरका बालबालिकालाई उपहार बाँडेको भिडियो सार्वजनिक गरेका थिए । त्यस्तै उनले विमान यात्राका क्रममा खाना, पानी वा मनोरञ्जनबिनाको यात्रा गर्दै गरेको अनुभवलाई रमाइलो शैलीमा इन्स्टाग्राम स्टोरीमा पोस्ट गर्दा त्यो पनि निकै भाइरल बनेको थियो।
विश्वकपभर उनका इन्स्टाग्राम र टिकटकका सामग्रीले व्यापक चर्चा पाए भने उनका ४७ लाख स्न्यापच्याट सदस्यले पनि उनका दैनिक गतिविधिहरू उत्सुकतापूर्वक पछ्याइरहेका छन् ।
हालान्ड आफैँ पनि यो लोकप्रियताको आनन्द लिइरहेका देखिन्छन् । उनले प्रशंसकहरूले बनाएका केही पोस्टमा प्रतिक्रिया समेत दिएका छन् ।
एउटा प्रयोगकर्ताले ‘यो हरियो प्याज हालान्डजस्तै देखिन्छ कि मलाई मात्र लागेको हो ?’ भनेर पोस्ट गरेको तस्बिरमा हालान्डले कारको झ्याल बन्द गरिरहेको कुकुरको मीम पोस्ट गर्दै रमाइलो प्रतिक्रिया दिएका थिए ।
विश्वकप सुरु हुँदा इन्स्टाग्राममा उनका चार करोड फलोअर थिए । प्रतियोगिताकै क्रममा त्यो संख्या बढेर ६ करोड पुग्यो, जसले उनलाई सबैभन्दा तीव्र गतिमा फलोअर बढाउने चर्चित फुटबलर बनायो । उनका रिल्सहरू विश्वकप अवधिमै ६८ करोड ३० लाखभन्दा बढी पटक हेरिएका छन् ।
उनले कार्टुन पात्र श्रेकसँगको सम्पादन गरिएको तस्बिर पोस्ट गर्दै ‘मेरो जुम्ल्याहा भाइसँग सेल्फी’ भन्ने क्याप्सन दिएका थिए । अर्को पोस्टमा उनी न्यूयोर्कमा बेसबल क्याप र सनग्लास लगाएर पर्यटकझैं घुमिरहेका देखिए भने टेक्सासमा किनमेल गर्दा आफ्नो प्रसिद्ध ‘भाइकिङ हेल्मेट’ को सट्टा ‘काउब्वाय टोपी’ लगाएको तस्बिर पनि निकै चर्चित बन्यो ।
गुगलले समेत यो रमाइलो अभियानमा साथ दिएको छ । अहिले गुगलमा हालान्डको नाम खोज्दा भाइकिङ हेल्मेट लगाएका नाविकहरू स्क्रिन भरि डुंगा चलाउँदै गएको एनिमेसन देखिन्छ ।
उनको खेल भावना पनि सामाजिक सञ्जालमा निकै प्रशंसित भएको छ । एउटा भाइरल भिडियोमा अन्य खेलाडीहरूले आफ्नो जर्सी भुइँमा फ्याँकिरहेका बेला हालान्डले भने जर्सीलाई राम्रोसँग मोडेर किटम्यानलाई सम्मानपूर्वक हस्तान्तरण गरेको देखिन्छ ।
पूर्व बोरुसिया डर्टमुण्डका सहकर्मी तथा अहिले इङ्ल्यान्डका स्टार मिडफिल्डर जुड बेलिङ्घमसँगको उनको मित्रताले पनि इन्टरनेट प्रयोगकर्ताको मन जितेको छ । कतिपयले त यी दुईलाई लोकप्रिय टेलिभिजन पात्रहरूको जोडीसँग तुलना गरेका छन्, विशेष गरी नर्वे र इङ्ल्यान्डको क्वार्टरफाइनलअघि।
हालान्डको लोकप्रियताले बेलिङ्घमलाई पनि फाइदा पुगेको देखिन्छ । टिकटकमा बेलिङ्घमबारे १३ लाख पोस्ट छन् भने इङ्ल्यान्डका कप्तान ह्यारी केनबारे करिब २ लाख ७७ हजार पोस्ट मात्र छन् ।
नेदरल्यान्ड्सकी १८ वर्षीया एक टिकटक सिर्जनाकर्ताले हालान्ड र बेलिङ्घमबारे बनाएको भिडियो एक लाखभन्दा बढी पटक साझा गरिएको छ ।
उनी भन्छिन्, – “यो विश्वकपअघि म हालान्डलाई चिन्दिनँ । म सामान्यतया फुटबल त्यति हेर्दिनँ, यसपालि भने मेरो ‘फर यू पेज’ पूरै हालान्डका रमाइला भिडियो र स्न्यापच्याट पोस्टले भरियो ।”

उनले थपिन्, “मलाई इर्लिङ हालान्डको शैली मन पर्छ । उनका स्न्यापच्याट पोस्टहरू निकै रमाइला हुन्छन्। साथै, हालान्ड र बेलिङ्घमबीचको मित्रता पनि निकै मनपर्छ ।”
रुसकी मोडल अनास्तासिया कोस्ट्रोमिटिना पनि हालान्डसँगको समानताका कारण भाइरल बनिन् ।
उनकी आमाले छोरीले हालान्डका हाउभाउ नक्कल गरेको भिडियो पोस्ट गरेपछि त्यो निकै चर्चित भयो ।
कोस्ट्रोमिटिनाको लामो सुनौलो कपाल, निला आँखा र अग्लो कद हालान्डसँग मिल्ने भएकाले धेरैले उनीहरूलाई दाजुभाइ वा जुम्ल्याहा जस्तै देखिने टिप्पणी गरेका छन् ।
“सुरुमा मानिसहरूले मलाई हालान्डसँग तुलना गर्दा म अलमलमा परेकी थिएँ,” उनले भनिन्। “तर पछि यस्तो महान् खेलाडीसँग तुलना हुनु अपमान होइन भन्ने महसुस भयो।”
“उनी निकै विनम्र व्यक्ति देखिन्छन् र उत्कृष्ट खेलाडी त हुन् नै,” उनले थपिन्।
उता म्यानचेस्टर सिटीका समर्थकहरूका लागि भने संसारले अहिले मात्रै उनीहरूले वर्षौंदेखि देख्दै आएको वास्तविक हालान्डलाई चिनेको हो।
‘१८९४ फ्यान समूह’ का सदस्य डान्टे फ्रेन्ड भन्छन्, “उनी हाम्रो क्लबका लागि ठूलो सम्पत्ति हुन्। उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन्। समर्थकहरूको पोस्ट हेर्छन्, केही प्रमुख समर्थकसँग प्रत्यक्ष सम्पर्कमा पनि रहन्छन्। त्यसैले हामी उनलाई आफ्नै परिवारको सदस्यजस्तै ठान्छौं।”
म्यानचेस्टर सिटी आधिकारिक समर्थक क्लबका महासचिव केभिन पार्करले भनेका छन्, “उनी संसारकै उत्कृष्ट स्ट्राइकरमध्ये एक हुन्। तर सिटीका समर्थकले उनलाई केवल महान् फुटबलरका रूपमा मात्र होइन, फरक व्यक्तित्व भएका मानिसका रूपमा पनि हेरेका छन्।”
विश्वकपको क्वार्टर फाइनलमा हालान्डलाई हेर्न टिकट किन्नेहरुको भिड पनि असँख्य थियो। टिकटको माग ह्वात्तो वढंयो। अन इतिहासमै पहिलो पटक नर्वेको जर्सी विश्व बजारमा अभाव हुन पुग्यो।
हालान्डले नर्वेसँगको आफ्नो सफलताले आफैंलाई पनि आश्चर्यचकित बनाएको स्वीकार गरे।
उनी पनि त्यस्तै सरल र बनावटी रहित शुद्ध बोल्छन्। ब्राजिललाई जितेपछि उनले भनेका थिए “ब्राजिलसँगको खेलअघि मैले यस्तो जितको कल्पना गरेको थिइनँ । नर्वेसँग क्वार्टरफाइनलसम्म पुग्नु मेरो लागि पनि निकै आश्चर्यको कुरा हो।”
हालान्डका टिमका साथीहरु पनि उनको गोल भन्दा उनको सरल स्वभावको प्रशंसा गर्न रुचाउँछन्।
टिमका सहयात्री क्रिस्टियन थोर्स्टभेटले हालान्डलाई ‘सेलिब्रिटी’ नभई टोलीको प्रेरणाको स्रोतका रूपमा चित्रण गर्छन् ।
मुसुमुसु हाँसिरहने हालान्ड स्वयं पनि यो सबै रमाइलो क्षण बिताइरहँदा खुसी ब्यक्त गर्छन् ।
“हामी विश्वकप खेलिरहेका छौं भने यसको प्रत्येक क्षणको आनन्द लिनुपर्छ । किनकि कुनै पनि कुरा सधैं रहँदैन । त्यसैले यहाँ रहुञ्जेल यो यात्राको पूर्ण आनन्द लिनुपर्छ ।”
२०२६ फिफा विश्वकप हालान्डले ट्रफी उचालेर समाप्त गरेनन् । तर यस प्रतियोगिताले उनलाई विश्वकपका सबैभन्दा प्रभावशाली र सम्झनलायक खेलाडीमध्ये एकका रूपमा स्थापित गर्यो । अझ महत्वपूर्ण कुरा उनले नर्वेमा फुटबलप्रतिको उत्साहलाई पुनर्जीवित गरे र भाइकिङहरू अझै पनि विश्वका उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने सन्देश संसारलाई दिए ।


खबर सबै
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण
-
‘भाइकिङ ब्वाय’ हालान्डको आकाशिएको छवि, टिकटकमा सबैभन्दा बढी खोजिए
-
सरकार दसैँसम्म टिकाओ : दुर्गा प्रसाईँ
-
मनसुन सक्रिय : विभागले भन्यो– यी भूभागमा हुनसक्छ ‘अति भारी’ वर्षा
-
‘भाइकिङ ब्वाय’ हालान्डको आकाशिएको छवि, टिकटकमा सबैभन्दा बढी खोजिए
-
सरकार दसैँसम्म टिकाओ : दुर्गा प्रसाईँ
-
मनसुन सक्रिय : विभागले भन्यो– यी भूभागमा हुनसक्छ ‘अति भारी’ वर्षा
-
डिसेम्बरमा बंगलादेश फर्किएर आत्मसमर्पण गर्ने हसिनाको घोषणा
-
फेसबुक र इन्स्टाग्रामको डिजाइनबारे युरोपेली सङ्घको आपत्ति, मेटामाथि कारबाहीको चेतावनी
-
निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू : राष्ट्र बैंक






प्रतिक्रिया