विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

 विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ । ब्रेन्ट क्रुडलाई विश्व बजारमा कच्चा तेलको मूल्यको मानक मानिन्छ ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नुअघि अर्थात् गएको फेब्रअरी २८ मा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७६ डलर थियो । अहिले विश्व बजारमा ब्रेन्ट क्रुड प्रतिब्यारेल ७२ डलर आसपासमा कारोबार भइरहेको छ । युद्ध शुरू भएपछि ब्रेन्ट क्रुडको मूल्य १२० डलर नाघेको थियो ।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाउ घटे पनि नेपाली बजारमा भने अर्को हप्तामात्र थाहा हुन्छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार नेपाली बजारमा कच्चा तेल नभई प्रशोधित तेलको भाउमा भर पर्छ ।

भारतीय आयल निगम (आईओसी) ले हरेक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा मूल्यसूची पठाउँछ । आज जुन २५ तारिख हो । अब आउँदो जुलाई १ अर्थात् आउँदो बुधवार अर्को मूल्य आउनेछ ।

नेपालमा मध्यपूर्वको युद्धअघि पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १४२ रुपैयाँ थियो । अहिले पेट्रोलकाे मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजलकाे प्रतिलिटर २२५ रुपैयाँमा कारोबार भइरहेको छ । युद्ध शुरू भएपछि खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ९०० रुपैयाँ रहेकोमा अहिले २१६० रुपैयाँ पुगेको छ ।

गएको हप्ता अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ । योसँगै कच्चा तेलको भाउ घटेको हो ।

प्रतिक्रिया

खबर सबै