प्यूठानको झिमरुक ट्रान्सफर्मर बिग्रिँदा तीन जिल्ला अन्धकारमा

प्यूठानको झिमरुक जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि आइतबारदेखि प्युठान, रोल्पा र अर्घाखाँचीका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

आइतबार रातिदेखि विद्युत् आपूर्ति बन्द हुँदा बैंक तथा वित्तीय संस्था, मोबाइल सेवा, खानेपानी प्रणाली र सरकारी कार्यालयको कामकाज प्रभावित बनेको स्थानीयले जनाएका छन् । बुटवल पावर कम्पनी लिमिटेडले १५ एमभीए क्षमताको पावर ट्रान्सफर्मरमा समस्या देखिएकाले सेवा रोकिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शान्तिराम प्रसाईंका अनुसार मर्मतमा समय लाग्ने देखिएपछि अर्घाखाँचीबाट केन्द्रीय प्रसारण लाइनमार्फत वैकल्पिक विद्युत् आपूर्तिको प्रयास भइरहेको छ । साँझसम्म केही क्षेत्रमा सेवा पुनः सञ्चालन हुन सक्ने प्रशासनको अपेक्षा छ ।स्थानीयले मोबाइल चार्जदेखि खानेपानी सेवासम्म प्रभावित भएको जनाएका छन् ।

यो विषयमा संघीय सांसद सुशान्त वैदिकलेसंघीय सदनमा, प्रदेश सभा सदस्य निमा गिरीले लुम्बिनी प्रदेश सभामा मंगलबार गम्भीर विषयको सम्बोधन गरिदिन आग्रह गरेका थिए ।

उनीहरुले अहिले आधारभूत सेवामा रहेको विद्युत सेवा अवरुद्धले धेरै क्षेत्रमा प्रभावित भएकोले वैकल्पिक व्यवस्थाका लागि माग गरेका छन् । यसैबीच लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्यूठान, अर्घाखाँची र रोल्पा जिल्लामा विद्युत आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सुचारु गर्न नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

झिमरुक उत्पादन केन्द्रको पावर हाउसमा ट्रान्सफर्मर बिग्रिएपछि प्यूठान, अर्घाखाँची र रोल्पामा विद्युत सेवा बन्द भएको हो । विद्युत अवरुद्ध हुँदा खानेपानी, स्वास्थ्य तथा बैंकिङ लगायतका सेवासमेत प्रभावित बनेका छन् । मुख्यमन्त्री आचार्यले नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवसँग छलफल गर्दै समस्या समाधानमा तत्काल सक्रिय हुन आग्रह गरेका हुन् ।

विद्युत नहुँदा जनजीवन प्रभावित छ । यो समस्या हल गर्न तत्काल ध्यान दिनुपर्ने देखियो,’ मुख्यमन्त्री आचार्यले भने,‘खानेपानी, स्वास्थ्य र बैंकिङ क्षेत्रमा ठूलो असर परेको छ ।’ प्रमुख यादवले आफू फिल्डमै रहेको र वैकल्पिक उपायमार्फत विद्युत सेवा सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी मुख्यमन्त्रीलाई मंगलबार नै दिएपनि अहिलेसम्म समाधान हुन सकेको छैन ।

प्रतिक्रिया

खबर सबै