बाणगंगा २ मा तेस्रो “डि.वाई.सी कप” खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ राजापुरमा तेस्रो “डि.वाई.सी कप” खुल्ला नकआउट फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । “देशको सर्वाङ्गिण विकास दर्पण युवा क्लबको प्रयास” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रति उत्साह थप्ने अपेक्षा गरिएको छ ।

दर्पण युवा क्लबका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी को प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पन्थीले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक दिशामा अघि बढाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले सामाजिक एकता र प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतियोगितामा मनकामना सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको छ भने वैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूह सह–प्रायोजकको रुपमा रहेको आयोजकले जनाएको छ । साथै विभिन्न संघसंस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगसमेत रहेको क्लबले जानकारी दिएको छ ।

उद्घाटन खेलमा फ्रिडम फाउण्डेसन चार नम्बर र आयोजक दर्पण युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो । खेलमा फ्रिडम फाउण्डेसनले आयोजक टोलीलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार दिउँसो २ बजे डाई योङ क्लब र श्रृजना युवा क्लबबीच खेल हुने छ भने सोही दिन दिउँसो ४ बजे प्रगतिशील युवा क्लब र मुहान एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

जारी प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ५–५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा समेत पुरस्कार वितरण गरिनेछ ।

प्रतिक्रिया

खबर सबै