निर्वाचनमा सहभागिता बढाउन कपिलवस्तुमा अल्पसंख्यक महिला–युवतीलाई मतदाता शिक्षा

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै कपिलवस्तुका मधेसी, मुस्लिम, हिंसा पीडित, अल्पसंख्यक महिला तथा युवतीलाई मतदाता शिक्षा प्रदान गरिएको छ । महिला, कानून र विकास मञ्चको सहयोग तथा साथी संस्था कपिलवस्तुको आयोजनामा बिहीबार नेपाल निर्माण व्यवसायी संघको सभाहलमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा करिब ५० भन्दा बढी सहभागीलाई मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण गरिएको थियो । सहभागीलाई मतपत्रसम्बन्धी जानकारी, मतदान गर्ने र मतपत्र पट्याउने तरिका, निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा मतदान गर्न जाँदा अपनाउनुपर्ने सावधानीलगायत विषयमा जानकारी दिइएको थियो ।

साथी संस्था कपिलवस्तुकी प्रमुख बिमला घिमिरेले आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मतदान गर्ने तरिका, मतपत्र पट्याउने विधिलगायत विषयमा व्यवहारिक अभ्यास गराइएको बताउनुभयो । सहभागी महिला तथा युवतीलाई नमुना मतदानसमेत गराइएको थियो ।

उहाँका अनुसार सहभागीहरू उम्मेदवार चयन गरी मतदान गर्न तथा मतपेटिकामा मतपत्र राख्न सक्षम भएका छन् । कार्यक्रममा कपिलवस्तु नगरपालिका–१ का वडा अध्यक्ष जाहिद खानले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।

नमुना मतदानसहित सञ्चालन गरिएको उक्त कार्यक्रमबाट जिल्लामा अझ व्यापक रूपमा मतदाता शिक्षा आवश्यक रहेको निष्कर्ष निकालिएको छ । कार्यक्रमको सहजीकरण बिमला घिमिरे र सुस्मा गुराँगाईले गर्नुभएको थियो ।

प्रतिक्रिया

खबर सबै