

लुम्बिनीको राजनीतिमा एमालेको नजर: नयाँलाई भन्दा पुरानामै ध्यान, कपिलवस्तु र बाँकेमा रणनीतिक उम्मेदवार, के हो कारण ?



लुम्बिनीको राजनीतिमा सधैँ केन्द्रबिन्दुमा रहने एमाले उपाध्यक्ष विष्णु पौडेल यसपटक पनि चर्चाको शिखरमा छन्। उनलाई पार्टीले रुपन्देही क्षेत्र नं. २ बाट सर्वसम्मत र एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
रोचक कुरा त के छ भने, पौडेलको नाम रुपन्देही-२ मा मात्र सीमित छैन; उनलाई पाल्पा क्षेत्र नं. २ र रुपन्देही क्षेत्र नं. ३ बाट समेत उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
पौडेलको संसदीय यात्रा लामो र उतारचढावपूर्ण छ। २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पाबाट विजयी यात्रा सुरु गरेका उनी पहिलो र दोस्रो संविधानसभामा रुपन्देही-४ बाट सभासद् बने।
संघीय संरचनापछि २०७४ र २०७९ को निर्वाचनमा रुपन्देही-२ बाट लगातार जित निकालेका पौडेल यसपटक पनि सोही क्षेत्रबाट सुरक्षित महसुस गरिरहेका छन्। यद्यपि, २०५६ सालमा रुपन्देही-३ मा कांग्रेसका सूर्यप्रसाद प्रधानसँग ६ सय मतान्तरले व्यहोरेको पराजय बाहेक उनी सधैं विजेताका रूपमा रहँदै आएका छन्।
महासचिव पोखरेललाई ‘कमब्याक’ को चुनौती
पार्टीका वैचारिक ‘थिङ्क ट्याङ्क’ मानिने महासचिव शंकर पोखरेल दाङ क्षेत्र नं. २ बाट एकल सिफारिसमा परेका छन्। २०७९ को निर्वाचनमा माओवादी केन्द्रकी रेखा शर्मासँगको पराजयको बदला लिन पोखरेल यसपटक पूर्ण तयारीका साथ मैदानमा उत्रिने संकेत देखिएको छ।
पोखरेलको संसदीय इतिहास मिश्रित छ। २०५१ सालमा विजयी भएका उनी २०५६ र २०७० मा पराजित भएका थिए। २०६४ मा समानुपातिक र २०७४ मा प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेर साढे तीन वर्ष लुम्बिनी सरकारको नेतृत्व गरेका पोखरेललाई पार्टीले यसपटक पुनः संघीय संसदमा फर्काउन एकल सिफारिस गरेको हो।
प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको ‘क्लासिक’ भिडन्तको संकेत
गुल्मी क्षेत्र नं. १ मा एमालेले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई एकल उम्मेदवार सिफारिस गरेको छ। यो सिफारिससँगै गुल्मी–१ मा पुनः एकपटक प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीचको परम्परागत प्रतिद्वन्द्विता दोहोरिने निश्चितजस्तै भएको छ।
पार्टीको ११औं महाधिवेशनमा महासचिवको दाबेदार रहेका तर अध्यक्ष ओलीको चाहनामा शंकर पोखरेललाई बाटो छाड्दै केन्द्रीय सदस्यमा चित्त बुझाएका ज्ञवाली बौद्धिक र स्पष्ट वक्ताका रूपमा चिनिन्छन्।
२०५६ र २०७४ मा विजय हासिल गरेका ज्ञवाली २०६४ र २०७९ मा पराजित भएका थिए। संसदमा सधैं प्रभावशाली उपस्थिति जनाउने ज्ञवालीका लागि यो चुनाव आफ्नो शाख जोगाउने अग्निपरीक्षा हुनेछ।
खिमलालको ‘न्याय’ र गोकर्णलाई झाँक्रीको साथ ?
गत निर्वाचनमा राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर पनि टिकट नपाएका युवा नेता खिमलाल भट्टराईलाई यसपटक रुपन्देही क्षेत्र नं. ५ बाट ‘न्याय’ गरिएको छ। उनलाई त्यहाँबाट एकल सिफारिस गरिएको छ।
यसअघि सो क्षेत्रमा एमालेका वासुदेव घिमिरेले कांग्रेसका प्रभावशाली नेता भरतकुमार शाहलाई भारी मतान्तरले हराएका थिए। तर, यसपटक घिमिरेलाई रुपन्देही–३ मा सारिएको छ भने भट्टराईका लागि ५ नम्बर क्षेत्र खाली गरिएको छ।
उता, गुल्मी क्षेत्र नं. २ मा विकासप्रेमी नेताका रूपमा स्थापित गोकर्ण विष्टको नाम सिफारिस हुँदा रामकुमारी झाँक्रीको नाम पनि सोही क्षेत्रबाट सिफारिस हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
गत निर्वाचनमा विष्टसँगै पराजित भएकी झाँक्री अहिले एमालेमा फर्किएकी छन्। विष्ट, झाँक्री र राजेन्द्र अर्यालको नाम सिफारिस भए पनि विष्टको टिकट लगभग पक्का मानिन्छ। २०५६ यताका सबै निर्वाचन लडेका विष्ट आफ्नो कार्यशैलीका कारण विपक्षी मतदातामाझ पनि लोकप्रिय छन्।
कपिलवस्तु र बाँकेमा रणनीतिक उम्मेदवार
कपिलवस्तु क्षेत्र नं. १ मा एमालेले रणनीतिक कदम चालेको छ। निवर्तमान सांसद बलाराम अधिकारीले आफूले दुई पटक जितिसकेको भन्दै विश्राम लिने घोषणा गरेपछि पूर्वसांसद विश्राम चौधरीलाई एकल सिफारिस गरिएको छ। यस्तै, कपिलवस्तु–२ मा कुनै समय एमाले छाडेर कांग्रेस प्रवेश गरी पुनः एमालेमै फर्किएका दृघनारायण पाण्डेयलाई एकल सिफारिस गरिएको छ।
बाँके क्षेत्र नं. १ मा सूर्यप्रसाद ढकाल एकल सिफारिसमा पर्दा क्षेत्र नं. ३ मा पूर्वमन्त्री दलबहादुर सुनारको एकल नाम गए पनि त्यहाँ असन्तुष्टि चुलिएको छ। अन्य ७ जना आकांक्षीले सुनारको सिफारिसप्रति आपत्ति जनाएका छन्।
कहाँ-कहाँ भयो सिफारिस?
लुम्बिनीको रुपन्देही-१ मा एमाले सचिव छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा. कृष्ण न्यौपाने। यसमध्ये विश्वकर्मा यस क्षेत्रका बलिया दाबेदार हुन्।
यस्तै रुपन्देही-३ मा एमालेका सबैभन्दा धेरै आकांक्षी छन्। उपाध्यक्ष विष्णु पौडेलसहित निवर्तमान सांसद वासुदेव घिमिरे, पूर्वमेयर हरि अधिकारी, युवा नेतृ लक्ष्मी केसी लगायत ११ जनाको नाम सिफारिस भएको छ।
यसका अलावा पाल्पा-१ मा निवर्तमान सांसद नारायण आचार्यसहित प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, मीनबहादुर सारू लगायत ६ जना, पाल्पा-२ मा विष्णु पौडेल र ठाकुर गैरेबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। गैरे निवर्तमान सांसद समेत हुन्।
त्यसैगरी बाँके-२ मा एमाले जिल्ला अध्यक्ष निरक गुरुङ, व्यवसायी कृष्णप्रसाद श्रेष्ठ र पत्रकार अछरी पोख्रेल छन् भने दाङ-१ रेवतीरमण शर्मा, अर्जुन गुरुङसहित ५ जना तथा रुकुम पूर्वमा खेममान खड्कासहित ५ जना आकांक्षी छन्।
सिफारिस हुन बाँकी जिल्ला
यसका अलावा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार अर्घाखाँची र प्यूठान (एक-एक निर्वाचन क्षेत्र भएका जिल्ला) तथा पश्चिम नवलपरासी, रुपन्देही-४ र दाङ-३ मा उम्मेदवार सिफारिस प्रक्रिया टुंगिन बाँकी छ। यी क्षेत्रमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ।
समग्रमा, एमालेले लुम्बिनी प्रदेशमा आगामी निर्वाचनका लागि पुराना, अनुभवी र विगतमा परीक्षण भइसकेका नेताहरूलाई नै सुरक्षित ठान्दै अघि बढाएको देखिन्छ। नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिकाको अपेक्षा गरिए पनि सिफारिस सूचीले एमाले परम्परागत शक्ति सन्तुलनमै रम्न चाहेको स्पष्ट पार्छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया