२१ फागुनमै निर्वाचन भए एसइई परीक्षा सर्ने

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने सम्भावना बलियो बन्दै गएसँगै यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि सर्ने संकेत देखिएको छ। हालको वार्षिक कार्यतालिका अनुसार २०८२ सालको एसइई चैतको पहिलो हप्ताबाट सुरु गर्ने तयारी भए पनि निर्वाचनको मितिले परीक्षा सञ्चालनमा असर पार्ने अवस्था आएको हो।

‘जेनजी’ आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। भदौ २७ मा बनेको उक्त सरकारले छ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पाएअनुसार फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिएको हो। सरकार अहिले निर्वाचन तयारीमै केन्द्रित रहेको र तोकिएकै समयमा चुनाव गराउने प्रतिबद्धता प्रधानमन्त्री कार्कीले दोहोर्‍याउँदै आएकी छन्।

तर यही निर्वाचनका कारण एसइई परीक्षा प्रभावित हुने देखिएको परीक्षा बोर्डले जनाएको छ। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार मतपत्र र एसइई प्रश्नपत्र छाप्ने एउटै निकाय—सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड—हुँदा समस्या देखिएको हो। एउटै समयमा दुई संवेदनशील सामग्री छाप्नुपर्दा सुरक्षा तथा व्यवस्थापन चुनौतीपूर्ण हुने उनको भनाइ छ।

उनले भने, “अब प्रतिनिधिसभा निर्वाचन हुने निश्चित जस्तै छ। मतपत्र र प्रश्नपत्र एउटै ठाउँमा छापिनु पर्ने भएकाले परीक्षा सञ्चालनमा असर पर्ने देखियो, सुरक्षा हिसाबले पनि चुनौती बढ्छ।”

परीक्षा बोर्डका उपनियन्त्रक तारानाथ निरौलाले पनि तोकिएको समयमा निर्वाचन भएमा एसइई परीक्षा प्रभावित हुने स्पष्ट पारे। उनका अनुसार जनक शिक्षा सामग्री केन्द्रले दुवै सामग्री छापे पनि प्रश्नपत्र सुरक्षित राख्ने पर्याप्त भण्डारण सुविधा परीक्षा बोर्डसँग छैन। साथै, समयमै प्रश्नपत्र जिल्लामा पठाएर सुरक्षित राख्ने काम पनि कठिन हुने देखिन्छ।

“प्रश्नपत्रसँगै मतपत्र पनि जिल्लामा पुग्ने हुँदा सुरक्षाको जिम्मेवारी थपिन्छ,” उनले भने, “जनशक्ति व्यवस्थापन, विद्यालयहरू परीक्षा केन्द्र हुनु, शिक्षकहरू निर्वाचनमा खटिनु, कतिपय ठाउँमा मतगणना लम्बिनुजस्ता कारणले पनि समस्या आउन सक्छ।”

यसैबीच, निर्वाचन भएमा एसइई परीक्षा तोकिएको समयभन्दा एक वा दुई हप्ता पछि सारिने सम्भावना रहेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए। माघको पहिलो साता परीक्षा तालिका सार्वजनिक गर्ने योजना भए पनि निर्वाचनका कारण बोर्डमा छलफल गरेर मात्रै नयाँ कार्यायोजना बनाइने उनले बताए। यद्यपि, बोर्डले आन्तरिक रूपमा एसइईको तयारी भने जारी राखेको छ।

उता, परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका (संशोधनसहित) २०६८ अनुसार परीक्षा केन्द्र निर्धारण गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ। सम्बन्धित एकाइहरूले पौष मसान्तसम्म परीक्षा केन्द्र तोकी माघको पहिलो हप्ताभित्र बोर्डमा विवरण पठाउनुपर्ने छ।

परीक्षा केन्द्र निर्धारण गर्दा विगतमा देखिएका त्रुटिका कारण नतिजा प्रकाशनमा समस्या आएको उल्लेख गर्दै यसपटक निर्देशिकाका व्यवस्था कडाइका साथ पालना गर्न बोर्डले आग्रह गरेको छ। न्यूनतम परीक्षार्थी सङ्ख्या हिमाली दुर्गम क्षेत्रमा १५०, पहाडी क्षेत्रमा २५० र तराई, भित्री मधेश तथा उपत्यकामा ३०० देखि ४०० भित्र राख्नुपर्ने व्यवस्था गरिएको छ। यद्यपि, परीक्षार्थी संख्या जति भए पनि प्रत्येक जिल्लामा कम्तीमा एउटा परीक्षा केन्द्र भने अनिवार्य रूपमा कायम गर्नुपर्नेछ।

निर्धारित सङ्ख्याभन्दा कम परीक्षार्थी राखेर केन्द्र कायम गरेमा त्यसको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्बन्धित एकाइको हुने पनि स्पष्ट गरिएको छ। साथै, एउटै विद्यालयका मात्र विद्यार्थी रहने गरी केन्द्र नबनाई कम्तीमा दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी हुने व्यवस्था गर्नुपर्ने मापदण्ड पनि तोकिएको छ।

गत वर्ष २०८१ सालको एसइई परीक्षा भने चैत ७ गतेदेखि सुरु भएर १४ गते सम्पन्न भएको थियो।

प्रतिक्रिया

खबर सबै