

रुपन्देहीको रोहिणी गाउँपालिकामा कामकाज ठप्प, वडाध्यक्ष र कर्मचारीबीच हातपात !


बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच उत्पन्न विवाद हात हालाहालसम्म पुगेपछि कामकाज ठप्प भएको छ । सोमबार गाउँकार्यपालिका बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरे र वडा नं २ का वडाध्यक्ष करम हुसेन खानबीच विवाद भएको थियो ।
सोही विषयमा बोल्ने क्रममा शिक्षा शाखा प्रमुख घिमिरे आक्रोशित भएर वडाध्यक्ष खानमाथि पानीको बोत्तलले हिर्काउन खोजेपछि वडाध्यक्षले प्रतिकार गर्दा सामान्य हातपात भएको खान पक्षधरको दाबी छ । उता गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव र कर्मचारीहरूले वडाध्यक्षले घिमिरेमाथि हातपात गरेको आरोप लगाएका छन् ।
वडा नं १ का अध्यक्ष आविद अली खानले भने विवाद र झडपको स्थिति शिक्षा शाखा प्रमुख घिमिरेले नै उत्पन्न गरेको जिकिर गरे ।
‘पाँच महिनादेखि कार्यपालिका बैठक भएको थिएन, हामीले बैठक राख्न माग गर्दै आएका थियौं, कार्यविधिमै तीन वर्ष अवधि भएको शिक्षा समितिलाई २ वर्षमै एकलौटी ढंगले पुनर्गठन गर्नु गलत हो भन्ने आवाज पनि उठाएका थियौं,’ खानले भने, ‘बैठकमा पनि शिक्षा समिति पुनर्गठन नियम विपरीत भएको कुरा उठेको थियो, यसैमा शिक्षा शाखा प्रमुख घिमिरे आक्रोशित भएर पानीको बोत्तलले हिर्काउन खोजेपछि वडाध्यक्षले प्रतिवाद गर्दा सामान्य हात हालाहाल भएको हो ।’
सुरुमा कसले हात हाल्न खोजेको हो भन्ने यथार्थ थाहा पाउन सीसीटीभी हेर्न सकिने उनले बताए । शिक्षा शाखा प्रमुख घिमिरेले भने वडाअध्यक्षले आफू बोल्ने क्रममा आक्रमणमा उत्रिएको तर आफूलाई कुनै चोट नलागेको बताए ।
उनले वडाध्यक्ष खानले विगतमा पनि आफूलाई कार्यालय नआउन धम्की दिँदै आएमा कुर्सी जलाइदिने भनेको बताए । घटनाको विरोध र वडाध्यक्षमाथि कारबाही नभएसम्म कर्मचारीहरुले अत्यावश्यक बाहेकका कामकाज ठप्प पारेको र यसमा कर्मचारी संगठनहरूले ऐक्यबद्धता जनाएको घिमिरेले बताए ।
२ नं वडाध्यक्ष खानले भने शाखा प्रमुख घिमिरेकै कारण गाउँपालिकाको शिक्षाको स्तर रुपन्देहीका १६ पालिका मध्ये सबैभन्दा पुछारमा रहेको आरोप लगाए ।
उनले कार्यविधि विपरित पुनर्गठन गरिएको शिक्षा समिति र शिक्षाको वजेटमा अनियमितता भएको आरोप लगाउँदै छानबिन हुनुपर्ने र घिमिरेको सरुवा हुनुपर्ने माग राखेको बताए । घिमिरेको सरुवा नभएसम्मका लागि शिक्षा शाखामा आफूहरूले तालाबन्दी गरेको समेत उनले जानकारी दिए ।
वडाध्यक्ष खान पक्षका बहुमत जनप्रतिनिधिहरूले जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी र रुपन्देही प्रहरी प्रमुखलाई घटनाको छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित पालिका अध्यक्ष यादव कार्यपालिकामा अल्पमतमा छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दुवै पक्षका कुरा सुन्ने बताए । उनका अनुसार सो घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया