

अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार





बागलुङ | बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।
कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए । उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी एक हजार २५० का दरले अलैँची बिक्री भएको छ ।
उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ । अलैँचीखेतीको विस्तारले यसलाई पुष्टि गरेको छ । यहाँ आर्थिक वर्ष ०७८र७९ मा एक सय २८ हेक्टर जमिनमा अलैँचीखेती गरिन्थ्यो । जसमा ४२ मेट्रिक टन उत्पादन भएको थियो । प्रतिकेजी नौ सय ५० का दरले बेच्दा कृषकले तीन करोड ९९ लाखको कारोबार गरेका थिए ।
आर्थिक वर्ष ०७९र८० मा १३१ हेक्टर जमिनमा खेती विस्तार भयो तर उत्पादन भने घट्यो । त्यस वर्ष ३८ मेट्रिक टन उत्पादन भएको थियो । अलैँचीको फेद कुहिने, पात–डाँठ सुक्ने रोगको सङ्क्रमण भएपछि उत्पादन घटेको कृषक सापकोटाले बताए । रासस


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया