

एनपीएलमा काठमाडौं भर्सेस चितवन : अनुभवी करण र युवा ब्याटर कुशलबीच भीडन्त

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा सोमबारको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछन्। टियु क्रिकेट मैदानमा शनिबारबाट सुरु भएको एनपीएलमा जनकुर बोल्ट्सले विजयी सुरुवात गरिसकेको छ।
यस प्रतियोगिताको दोस्रो खेलमा अनुभवी करण केसीको टिमले युवा खेलाडी कुशल मल्लको टिमसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं टिमको कुरा गर्ने हो कप्तान करण केसी राष्ट्रिय टिमको लामो अनुभव बोकेका खेलाडी हुन्। उनीसँग साहब आलमको स्पिनले टियु मैदानमा धेरै राम्रो नतिजा दिन सक्छ। साहब नेपाली घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको पनि अनुभव लिएका उत्कृष्ट स्पिनरमध्ये एक हुन्। स्पिनकै कुरा गर्दा दिपेश कँडेल अर्का स्टार खेलाडी हुन्। उनी स्पिनमा मात्रै होइन, टिमलाई चाहिएको खण्डमा ब्याटिङमा पनि महत्त्वपूर्ण भूमिका निभाउन सक्छन्।
काठमाडौंमा नेपाल ए टिम खेलिसकेका घरेलु स्टार राशिद खान पनि छन्। उनी पनि घरेलु मैदानमा राम्रो कौशल देखाउनसक्ने खेलाडी हुन्। विवेक केसी पनि काठमाडौं गुर्खाजको टिममा छन्। उनी दायाँ हाते बलिङ अलराउन्डर हुन्। उनी अष्ट्रेलिया बसेर क्रिकेट खेलिरहेका हुन्छन्। उनलाई पहिलो खेलमा काठमाडौंले सेटमा राख्ने सम्भावना कम छ। यसै पनि बलियो बलिङ युनिट भएको काठमाडौंमा विवेकले अन्य खेलहरूमा भने स्थान बनाउन सक्छन्।
ब्याटिङको कुरा गर्ने हो भीम सार्की नेपाली राष्ट्रिय टिममा फिल्डिङका कारण ‘जोन्टी ’ उपनाम पाएका खेलाडी हुन्। उनी मिडल अर्डरमा भरपर्दा ब्याटर हुन्। हुन त भीम एक दिवसीय खेलमा निकै रुचाइने खेलाडी हुन्, उनका ग्राउन्ड सटहरू निकै प्रशंसनीय हुन्छन्। अर्का ब्याटर हुन्, राजु रिजाल। उनी नेपालको अनुभवी खेलाडी हुन्। घरेलु मैदानको फाइदा लिन सकेको खण्डमा काठमाडौंलाई पक्कै सहज हुनेछ। कृष्ण कार्की एक समय यु-१९ मा धमाका मच्चाएका खेलाडी हुन्। उनी अहिले पनि लुम्बिनी प्रदेशका एक मुख्य खेलाडी हुन्। घरेलु खेलमा उनले कप्तानको भूमिकामा पनि देखिने गर्छन्। सुमित महर्जन पनि ब्याटिङमा टियु मैदानको सदुपयोग गर्नसक्ने खेलाडी हुन्। उनी विभागीय क्लब एपीएफबाट निरन्तर खेल्दै आएका छन्। त्यस्तै कृष कार्की काठमाडौंका युवा खेलाडी हुन्। उनको लागि यो एनपीएल हाइपमा आउने वातावरण बन्न सक्छ।
यस्ता छन् काठमाडौंका विदेशी खेलाडी
काठमाडौंले ५ जना विदेशी खेलाडी भित्र्याएको छ। जसमा मिचेल लेभिट, स्टेफेन इस्किनाजी, ग्रेर्हाड इरास्मस, ड्यान डथवेट र नथान सोटर रहेका छन्। मिचेल लेभिटको लागि यो राम्रो संयोग हो। नेदरल्यान्डका युवा ब्याटर मिचेलले २०२४ को फेब्रुअरीमा टियु मैदानमै टी-२० फर्म्याटमा डेब्यु गरेका थिए। उनी टप अर्डर ब्याटर हुन्। उनका लागि टियु मैदान पुनः एकपटक खास हुन सक्छ।
स्टेफेन इस्किनाजी इङ्ल्यान्डका विकेटकिपर ब्याटर हुन्। उनका लागि नेपाल नयाँ परिवेश हो। पहिलो खेलमा इस्किनाजी काठमाडौंको विकेटकिपरको रूपमा पहिलो रोजाइको खेलाडी हुन सक्छन्।
नामिबीया क्रिकेट टिमका कप्तान एवं ब्याटिङ अलराउन्डर ग्रेर्हाड इरास्मस काठमाडौंको एक मुख्य हतियार नै हुन्। उनी ब्याटिङ र बलिङ दुवैमा टिमका लागि निकै राम्रो योगदान दिन सक्छन्। कीर्तिपुरको मैदानबारे राम्रो जानकारी राख्ने खेलाडीमा पर्छन् उनी।
इङ्लिस ब्याटिङ अलराउन्डर ड्यान डथवेट पहिलो पटक नेपाल आएका हुन्। इङ्ल्यान्डको राष्ट्रिय टिमबाट नखेले पनि उनको लिष्ट ए र टी-२० मा थुप्रै कीर्तिमान बनाएका छन्। सोही कारण काठमाडौंले उनलाई भित्र्याएको हुन सक्छ।
नथान सोटर अष्ट्रेलियन बलर हुन्। ३२ वर्षीय नथानको रेकर्ड टी-२० खेलहरूमा निकै राम्रो छ। उनको प्रदर्शनले नेपालको क्रिकेटलाई भने कति रुझाउन सक्छ भन्ने काठमाडौंको पहिलो खेलपश्चात थाहा हुनेछ।
यस्तो छ टिम चितवन
नेपालका आक्रामक युवा ब्याटर कुशल मल्लको कप्तानीमा रहने टिम हो, चितवन राइनोज। यस टिममा कुशलले नेतृत्व गरिरहँदा नेपालका अनुभवी खेलाडी शरद भेषवाकर पनि चितवनमा छन्।
ब्याटिङ युनिटको कुरा गर्ने हो भने शरद र कुशलसँगै दिपक बोहोरा, रञ्जित कुमार र विपिन रावल पनि चितवनसँग रहेका छन्। त्यसबाहेक विदेशी खेलाडीमा रवि बोपारा, जान निकोल लोफ्टी इटोनले चितवनको ब्याटिङ युनिट पूरा हुनेछ।
बलिङ युनिटमा गौतम केसी, अमर रौतेला, सन्तोष कार्कीको साथमा पाकिस्तानी बलर शाहिल तानविरको मुख्य भूमिका हुनेछ। जसमा पार्ट टाइम बलर खोज्ने हो भने स्पिनमा कप्तान कुशल आफैं पनि आउन सक्छन्। जसमा इटोन लोफ्टी अर्का पार्ट टाइम बलर हुन सक्छन्।
चितवनका लागि सलाउद्दिन खान आइकोनिक खेलाडीको रूपमा चितवनमा जोडिएका छन्। उनी पहिलो खेलमा भने सायद प्लेइङ सेटमा मौका नपाउलान्। नयाँ खेलाडीलाई चितवनले केहीपछि मात्रै मौका दिन सक्छ। अर्का खेलाडी नरबहादुर सार्की पनि चितवनको टिममा छन्। उनी दायाँ हाते अलराउन्डरको रूपमा चितवनमा जोडिएका हुन्। सलाउद्दिन र नरले भने चितवनको प्लेइङ सेटमा खेल्न केही खेल कुर्नुपर्ने हुन सक्छ।
चितवनका विदेशी खेलाडी
चितवनले पहिलो सिजनको एनपीएल खेल्न ५ जना विदेशी खेलाडी भित्र्याएको छ। रवि बोपारा इङ्ल्यान्डका ब्याटिङ अलराउन्डर हुन्। ३९ वर्षीया रविसँग २ दर्शनभन्दा बढी व्यवसायिक लिग खेलेको अनुभव छ। २००८ मा इङ्ल्यान्डका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका रवि पहिलो पटक नेपालको व्यवसायिक लिग खेल्न आउन लागेका हुन्।
हसन इसाखिल अफगानस्तानका युवा ब्याटर हुन्। १८ वर्षीय हसन पहिलो पटक नेपाल आउन लागेका हुन्। अफगानिस्तानको युवा टिममा खेलिसकेका उनी चितवनका लागि राम्रो ओपनिङ ब्याटरको भूमिका निर्वाह गर्न सक्छन्।
चितवनका लागि अर्का विदेशी खेलाडी हुन् लुक ब्याङ्केस्टिन। इङ्ल्यान्डका युवा अलराउन्डर हुन्। उनी पहिलो पटक नेपाल आउने भएकाले उनीबाट चितवनले इङ्ल्यान्डको क्रिकेटको झल्को नेपाली मैदानमा पस्कने जमर्को गर्नेछ।
बायाँ हाते नामिबीयन ब्याटर जान निकोल लोफ्टी इटोन नेपाली मैदानमा खेलिसकेका खेलाडी हुन्। उनी बाँया हाते ब्याटर र उनी बलिङमा पनि चितवनको निकै ह्यान्डी बलर हुन सक्छन्। नयाँ केही प्रयोग गर्न चाहेमा इटोनलाई चितवनले दाँया हाते लेगब्रेकको रूपमा प्रयोग गर्न सक्छ।
३९ वर्षीय पाकिस्तानी बलर शाहिल तानविर पहिलो पटक नेपाल आएर खेल्दैछन्। उनी पाकिस्तानी टिमको निकै अनुभव बोकेर नेपाल आएका छन्। पाकिस्तानकै प्रख्यात लिगहरूमा खेलेको उनको अनुभव नेपाली मैदानमा दर्शकले देख्न पाउनेछन्।
टियु मैदानको पिच
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बनेको नयाँ पिचमा पहिलो खेलमा रन ठीकैमात्र बन्यो। पहिलो इनिङ्समा केही मोइस्चर पिचमा रहने भएकाले यस मैदानमा टसको निकै महत्त्वपूर्ण भूमिका हुन्छ। टस जित्ने टिमले भने पहिलो इनिङ्स बलिङ नै गर्न खोज्नेछ।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया