कपिलवस्तु अस्पताललाई एक करोड बढीका स्वास्थ्य सामग्री प्राप्त

कपिलवस्तु । कपिलवस्तु अस्पतालमा एक करोड बढीका स्वास्थ्य उपकरण प्राप्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड ६ लाख रुपैयाँभन्दा बढी मूल्यका अत्याधुनिक हाड जोर्नी सम्बन्धी स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरेको हो । जसले यो अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
कपिलवस्तु अस्पताललाई ९७ लाख रुपैयाँको सी आर्म मेसिन, ६ लाख ५० हजारको डेफिब्रिलेटर बायस्पिक सेट, तीन पिस ट्रान्सपोर्ट ट्राली, एक सेट ईसीजी ३ च्यानल, र एक सेट डेलिभरी बेड प्राप्त भएको छ। यस सामाग्रीको उपलब्धिले अब हाड जोर्नी सम्बन्धी उपचारलाई बढी सहज र प्रभावकारी बनाउने अस्पतालको विश्वास छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट किशोर बन्जाडेले भने, “यो अत्याधुनिक सामाग्रीको प्राप्तिले हाम्रो अस्पताललाई हाड जोर्नी उपचारमा नयाँ आयाम दिन्छ। हामी अब हाड जोर्नीका रोगीहरूको लागि उत्कृष्ट सेवा उपलब्ध गराउन सक्षम हुनेछौँ।“
हाडजोर्नी र नशा रोग विशेषज्ञ डा. अजय कुमार चौधरीका अनुसार, प्राप्त सामाग्री अत्याधुनिक प्रविधिको रहेका छन् जसले हाडजोर्नीको अप्रेसनलाई उच्च गुणस्तरमा सम्पन्न गर्न सहयोग पुर्याउने छ। “हामीलाई अत्याधुनिक उपकरण प्राप्त भएकोमा खुशी छ। यसले हाडजोर्नीका बिरामीहरूको उपचारमा क्रान्तिकारी परिवर्तन ल्याउने छ,“ उनले भने।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट बन्जाडेले भने, “हामीले यो अस्पताललाई स्वास्थ्य क्षेत्रको नमूना बनाउनका लागि हरसम्भव प्रयास गर्नेछौँ। अझै थुप्रै सामाग्री र जनशक्तिको आवश्यकता छ, तर यो नयाँ सामाग्रीले हाम्रो उद्देश्यलाई प्राप्त गर्नमा महत्वपूर्ण भूमिका खेल्ने छ।“
कपिलवस्तु अस्पतालमा प्राप्त गरिएको यो स्वास्थ्य सामाग्रीको लगानीले अस्पतालको क्षमता र सेवामा गुणस्तरीय सुधार ल्याउने आशा गरिएको छ।

प्रतिक्रिया

खबर सबै