

९ महिनामा नै तयार भयो एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान, आज उद्धाटनसंगै लिजेन्ड कप हुँदै





रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला खेल्नका लागि योग्य भएको छ । गुल्मीका युवा विनोद कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट रुपन्देहीमा क्रिकेट रंगशाला निर्माण गरेका हुन् । शिलान्याश गरेको ९ महिनामै रंगशाला खेल्न योग्य बनेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान नाम दिइएको यो मैदानको आज उद्घाटन गरेर खेल सञ्चालन गरेर शुभारम्भ गर्न लागिएको हो ।
धुर्मुस-सुन्तलीले चन्दा उठाएर बनाउन खोजेको चितवनको क्रिकेट रङ्गशाला वर्षौं अलपत्र परिरहँदा रुपन्देहीमा भने ९ महिनामै रंगशाला खेल्न योग्य बनेको हो । व्यक्तिगत लगानीमा क्रिकेट मैदान तयार भएकोमा धेरैले प्रशंसा गरेका छन् । जेठ ३० मा रंगशाला शिलान्यास गर्न नेपाल आएका कुँवर यसबीचमा तीनपटक अष्ट्रेलिया-नेपाल आउजाउ गरिसकेका छन् ।
कुँवरकै पहलमा मैदान तयार भएपछि क्रिकेटर शक्ति गौचनले खुसी व्यक्त गरे । खेलबाट सन्यास लिएर क्रिकेट क्षेत्रको विकासमा लागेका उनले कुँवरलाई यहाँको व्यवस्थापन र रेखदेखमा साथ दिएका छन् । क्रिकेटसँग सम्बन्धित सबै तहका नेतृत्वसँग गौचनले समन्वय गरिरहेका छन् ।
फागुन १४ मै उद्घाटन गर्ने भनिएकोमा क्रिकेट खेलाडीहरूको तालिका नमिलेपछि २ साता धकेलिएको रंगशाला निर्माणकर्ता कुँवरले बताए । उनका अनुसार रंगशालामा उद्घाटनको दिन लिजेन्डस कप क्रिकेट आयोजना गर्ने तयारी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले बताए ।
हाल अष्ट्रेलियामा बस्दै आएका कुँवरले आफ्नी श्रीमती सदीक्षाको सहयोगमा तिलोत्तमा नगरपालिका- १७ मा ४० करोड रूपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशाला निर्माण गरेका हुन् । रंगशाला खेल्न तयार भए पनि अझै भौतिक निर्माण बाँकी रहेको उनले बताए । ‘यो मैदानमा प्याराफिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने अनुमान छ, प्याराफिट बनाउने काम सुरू भइसकेको छ । यसका लागि करिब १८ करोड खर्च हुनेछ’, उनी भन्छन् ।
अष्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने कुँवरले निजी स्रोतबाट बनाएको रंगशालाबाट फाइदा नहुने भन्दै धेरैले प्रश्न गरेका छन् । तर, उनी पछि हटेका छैनन् । रंगशालाको स्थायित्वको लागि गुरुयोजना नै बनाइसकेका उनले यसलाई व्यावसायिक रूपमा अघि बढाएर नमुना योजना बनाउने सुनाए ।
‘यसै पनि देशमा रंगशाला कम छन्, क्रिकेटको क्रेज बढ्दैछ, त्यसमाथि मैले व्यावसायिक तरिकाले योजना बनाएको छु, त्यहीअनुसार लगानी गरेको हो, म मेरो योजनामा ढुक्क छु, पूर्वघोषित समयमै यसलाई पूर्ण सञ्चालनमा ल्याउँछु, यो मेरो संकल्प हो’, उनले भने ।
कुँवर व्यक्तिगत लगानीमा एकेडेमीसहितको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा जुटिरहेका छन् । सोहीअनुसार अहिले क्रिकेट मैदान तयार भएको छ ।
मैदान उद्घाटनको दिन ४ टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुँदै छ । प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी-२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गरेका छन् । सन् १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्दा रेस्ट अफ नेपालको टीमलाई कलाम अली तथा रुपन्देही लेजेन्ड्सलाई हरिबहादुर थापाले कप्तानी गरेका छन् ।
हाललाई प्रतियोगिता आयोजनाको लागि तयार पारिएको मैदानमा भौतिक पूर्वाधार थप्दै लाने योजना रहेको कुँवरले बताए । यसै साता प्याराफिट तथा एकेडेमी भवनको शिलान्यास हुनेसमेत उनले जानकारी दिए ।
नेपालका पूर्वक्रिकेटर गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बासडर छन् । यो क्रिकेट रंगशाला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ । उक्त एकेडेमी र सेन्टरको जिम्मेवारी शक्ति गौचनलाई दिइएको छ । रंगशाला कम्पाउन्डमा एकेडेमीको चार तले भवन बन्नेछ, जसमा १०० जनालाई आवासीय प्रशिक्षण दिइने बताइएको छ । ‘यो मैदानमा जुनसुकै अन्तर्राष्ट्रिय तहको खेल खेल्न मिल्छ’, गौचनले भने ।
यूएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा छन् । करिब २५ हजार दर्शक क्षमताको रङ्गशालासहित एकेडमी भवन बनाउने र राम्रा खेलाडी उत्पादन गर्ने कुँवरको लक्ष्य छ ।
रुपन्देही आफैँमा क्रिकेटका लागि चिनिएको जिल्ला हो । यहाँ धेरै राष्ट्रिय खेलाडी जन्मिएका छन् । राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, देव खनाल, ईन्दु वर्मा रुपन्देही जिल्लाकै उत्पादन हुन् । यो रङ्गशालाले रुपन्देहीबाट थप खेलाडी तयार हुने विश्वास क्रिकेटप्रेमीहरूले लिएका छन् । – प्रदीप आचार्य


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया